स्वास्थ्य सेवामा डुडुवा जिल्लाकै उत्कृष्ट



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका जिल्लाका आठवटै स्थानीय तहमध्ये स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट स्थानीय तह बनेको छ । जिल्ला स्वास्थ्य कार्यालयको मूल्यांकनमा डुडुवा गाउँपालिकाले नागरिकलाई दिने स्वास्थ्यसेवा सबैभन्दा गुणस्तरीय र उकृष्ट भएको पाइएको हो ।
पालिकाका स्वास्थ्य संस्थामार्फत प्रदान हुने सेवाका विभिन्न सूचकहरूमा डुडुवा उत्कृष्टमा परेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार अन्य पालिकाको तुलनामा डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवा नागरिकमैत्री पाइएको छ । उनले मूल्याकनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको बताए ।

‘विगतका वर्षहरूदेखि नै डुडुवाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ’, प्रमुख शाहले भने, ‘स्वास्थ्य संवेदनशील र अत्यावश्यक सेवा पनि हो । पालिकाले आफ्नो क्षेत्रका नागरिकका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्दै सेवालाई सुधार ल्याएको छ ।

बिरामीले पनि सहज रुपमा सेवा लिइरहेको पाइएको छ ।’ दुई दिनसम्म बाँकेको नेपालगन्जमा जिल्ला स्वास्थ्य कार्यालयले आष्योजना गरेको जनस्वास्थ्य क्रियाकलापबारे जिल्ला स्तरीय वार्षिक समीक्षामा डुडुवालाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै उत्कृष्टताको कदरपत्र प्रदान पनि गरिएको छ ।

स्वास्थ्य कार्यालयको मूल्यांकनपछि छनोट भएको डुडुवालाई जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले उत्कृष्टताको कदरपत्र प्रदान गरे ।

उक्त कदरपत्र डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले ग्रहण गरेका छन् । शाखा प्रमुख बुढाले गएका वर्षदेखि पालिकाले स्वाथ्य क्षेत्रमा गरेका लगानी, सेवा र प्रतिफलबारे जानकारी गराएका थिए । डुडुवा गाउँपालिकाले सुरुवाती चरणदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर–घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको छ ।

अहिले पालिकाका तीनवटा स्थानमा निःशुल्क प्रयोगशाला, ज्येष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभूत सेवा, टाढा तथा सेवाबाट वञ्चितीकरणमा परेका गाउँमा दुईवटा थप स्वास्थ्य एकाइको स्थापना गरेको शाखा प्रमुख बुढाले जानकारी दिए ।

यस्तै, नेपाल सरकारले उपलब्ध गराउने औषधिबाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निःशुल्क औषधिको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसूति सेवा र स्वास्थ्य समस्या आउने बित्तिकै घरमै स्वास्थ्यकर्मीद्वारा उपचार सेवा जस्ता कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

यस्तै स्वास्थ्य कार्यालयको मूल्यांकनमा जानकी गाउँपालिका दोस्रोमा छनोट भएको भने, खजुरा गाउँपालिका तेस्रोमा छनोट भएको हो । ती दुई पालिकालाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । जिल्लाका आठवटै पालिकाहरूलाई नेपालगन्जमा बोलाएर आर्थिक वर्ष ०७७÷०७८ मा गरेका कार्यहरूको प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।

कोरोना महामारीकाबीच पनि आमा सुरक्षा, नवजात शिशु सुरक्षा, क्षयरोग निवारण, कुष्ठरोग लगायतका स्वास्थ्य सेवामा राम्रो सुधार भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले हरेक वर्ष जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यसम्पादन गर्ने पालिकाको सूचकको आधारमा मूल्यांकन गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १७ गते आइतबार