खजुरामा बीउ प्रशोधन प्लान्ट



खजुरा ।

कृषि अनुसन्धान निर्देशनालय खजुराले बीउ प्रशोधन प्लान्ट संचालनमा ल्याएको छ । बिहीबार नेपाल कृषि अनुसन्धान परिषद्, बाली तथा बागवानी अनुसन्धानका निर्देशक राम बहादुर केसीले बीउ प्रशोधन प्लान्टको उद्घाटन गरेका थिए ।

केहि वर्ष अघि निर्माण सम्पन्न भएको भवनमा बीउ प्रशोधन प्लान्ट जडान गरिएको छ । ५० लाख ४० हजार बढीको लगानी लागेको प्रशोधन प्लान्टले अनुसन्धानमा उत्पादन हुने धान, गहुँ जस्ता बीउहरुलाई थप गुणस्तरीय बनाउन टेवा पुग्ने निर्देशनालय खजुराका प्राविधिक अधिकृत तथा सूचना अधिकारी रविन गिरीले जानकारी दिए ।

‘औषधमा प्रति घण्टा एक टन बीउ प्रशोधन गर्ने क्षमता यस प्रशोधन प्लान्टको रहेको छ’ उनले भने, ‘अनुसन्धानमा उत्पादन हुने धान, गहुँ जस्ता बीउहरुलाई थप गुणस्तरीय बनाउन टेवा पक्कै पुग्नेछ ।’ बाली तथा बागवानी अनुसन्धानका निर्देशक केसीले अनुसन्धानका गतिविधिका बारेमा किसानलाई जानकारी हुनुपर्नेमा जोड दिएका थिए ।

‘कृषि अनुसन्धानले गरेका विभिन्न जातहरु जुन किसानले चासो लिएर लगाउन सके उत्पादन बढाउन सकिन्छ’ उनले भने, ‘बीउ प्रशोधन प्लान्ट निर्माण भएपछि गुणस्तरीय बीउ किसान माझमा पुग्न समस्या हुँदैन ।’

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक अमर बहादुर पुनले अनुसन्धानका कार्यक्रमलाई जोडेर किसानलाई जानकारी गराउने उद्देश्य राखिएको जानकारी दिए । अनुसन्धानले गरेका काम नजिकका किसानले फाईदा लिन नसकेको बताउँदै उनले यसतर्फ किसानले पनि चासो दिनुपर्नेमा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रबार