नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बर्दियामा ८ वटा पालिका मध्ये सात वटा पालिकाको अधिवेशन सकिएको छ । अधिवेशन सकिएका सात पालिकामध्ये शेरबहादुर देउवा पक्षका चार जना र रामचन्द्र पौडेल पक्षका तीन जना विजयी भएका छन् ।
जिल्लाका एउटा पालिकामा भने अधिवेशन स्थगित भएको छ । पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा जिल्लाका दुई प्रभावशाली नेता सञ्जय गौतम र किशोरसिंह राठौरको समूहगत राजनीतिको प्रभाव पालिका अधिवेशनमा पनि परेको हो । देउवा पक्षले जिल्लाका गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा विजयी हासिल गरेको छ ।
पौडेल पक्षले भने बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा विजयी हासिल गरेको हो । मधुवन नगरपालिका वडा नम्बर–३ को क्रियाशिल सदस्यता वितरण सम्बन्धि विवादका कारण नगर अधिवेशन स्थगित भएको नेपाली कांग्रेस बर्दियाले जनाएको छ । गुलरिया नगरपालिकामा इन्द्र यादव विजयी भएका छन् । उनलाई देउवा पक्षबाट गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवको समर्थन गरेका थिए ।
राजापुर नगरपालिकामा देउवा समूहकै महेश थारु विजयी हुँदा गेरुवा गाउँपालिकामा देउवा पक्षकै प्रेम रावल निर्विरोध चयन भए । पौडेल पक्षबाट बारबर्दिया नगरपालिकामा सुरेन्द्रबहादुर बोहरा विजयी हुँदा बढैयातालामा देउवा समूहका भगतराम नेपाली विजयी भएका थिए । ठाकुरबाबा नगरपालिकामा पौडेल पक्षका पदमबहादुर खड्का विजयी भएको कांग्रेस बर्दियाले जनाएको छ ।
बाँसगढी नगरपालिकामा पौडेल पक्षका लोहारी थारु विजयी भएका थिए । बाँसगढीको उपसभापतिमा देबी प्रसाद भुसाल, सोमती थारु, सचिवमा ओम प्रकाश पौडेल, एकनारायण अधिकारी, सह–सचिवमा कृष्णराज चौलागाई र सह–सचिवमै कृतिराम थारु विजयी भएका छन् । जिल्लाका वडामा समेत दुवै समूहका लगभग बराबरी नै विजयी तथा निर्विरोध चयन भएको बताइएको छ ।
बर्दिया जिल्ला सभापतिका लागि ६ जनाले आकांक्षी देखाएपनि देउवा पक्ष र पौडेल पक्ष बीचका उम्मेदवारबीच नै चुनाव हुने पक्कापक्की जस्तै रहेको छ ।
दाङमा दुबै पक्ष बराबरी
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङमा सम्पन्न पालिका अधिवेशनमा शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् ।
जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा पक्षले विजयी हासिल गरेको छ भने पाँच स्थानीय तहमा पौडेल पक्ष निर्वाचित भएको हो । १० पालिका मध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका सभापति सर्वसम्मत चयन गरिएको थियो । बाँकी ८ पालिकामा अधिवेशन भएको थियो ।
जसमा घोराही उपमहानगरपालिकाको सभापतिमा देउवा समूहका तिलक रावतले विजयी भएका छन् । उनी जिल्लामा राजु खनाल र दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी निकट मानिन्छन् ।
त्यस्तै लमही नगरपालिकाका सभापति सन्तोष बुढाथोकी देउवा निकट हुन् । त्यस्तै राजपुरका सभापति नरेन्द्र राज भण्डारी, गढवाका किरण पौडेल र बंगलाचुली गाउँपालिकाका जागेश्वर अधिकारी देउवा पक्षका हुन् ।
बंगलाचुलीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा केन्द्रीय सदस्य दीपक गिरी निकट सुरेश हमालले विजयी भएका छन् । त्यस्तै दीपककै नातेदार रहेका शम्भु गिरीले दंगीशरण गाउँपालिकाको सभापतिमा विजयी हाँसिल गरे ।
त्यस्तै बबई गाउँपालिका सभापति प्रकाश बस्नेत र शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी दिपक गिरी निकट हुन् । काँग्रेस महामन्त्री शशांक कोइरालासँग नजिक रहेका गिरी पौडेल पक्षीय नेता हुन् ।










प्रतिक्रिया दिनुहोस्