आफ्नै देशमा सास्तीः होटल र गाडीवालाको तानातानमा परदेशी



नेपालगन्ज ।

भारतबाट दसैं तिहार मनाउन घर फर्किएका नेपालीहरूलाई जमुनाहा नाकामा सवारी साधन र होटलवालाहरूले सास्ती दिन थालेका छन् ।

जमुनाहामा रिक्सा र बसमा बसाउँन घर फर्किन लागेका नेपालीहरू तानातानमा परेपछि सास्ती पाएका हुन् । सुरक्षाकर्मीकै अगाडि रिक्सा, बस र होटलवालाले तानातान गरेपछि नेपालीहरू आफ्नै मुलुकमा समेत सुखसँग हिँडडुल गर्न पाएका छैनन् ।

‘नेपाली सीमा आइपुगेका हुँदैन गाडीवाला र होटलवालाले तानातान गर्छन्,’ भारतबाट फर्किँदै गरेका रुकुमका हरि ओलीले भने, ‘आफ्नो देशमा प्रवेश गरेसँगै सास्ती खेप्नुपर्छ ।’ गाडी तथा होटलवालाहरूले घर फर्किँदै गरेका परदेशीका हात समात्ने, झोला र बन्दोबस्तीको सामानहरू खोसेर आफ्नो गाडीमा राखेर दुःख दिने गरेका छन् ।

गाडी तथा होटलवालाहरूले यात्रु तानातान गर्दा सामानहरू हराउने गरेका छन् । यता ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पूर्ण खत्रीले नेपालीहरूलाई नसताउन होटल तथा गाडीवालाहरूलाई आग्रह गरिएको बताए ।

‘हाम्रो अनुपस्थितिमा तानातान गर्ने, झोला खोस्ने गरेको गुनासो आइरहन्छ,’ उनले भने, ‘दुव्र्यवहार गरेको पाइए कारबाही हुन्छ ।’ नेपालीहरू घर फर्किने क्रम बढेसँगै नेपालगन्जबाट होटल व्यवसायी, रिक्सा, बस लगायतका सवारी साधनको जमुनाहामा भीड लाग्ने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १३ गते बुधबार