कोहलपुर ।
चितुवाले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–५ को एक बाख्रा फर्ममा रहेका २१ वटा खसी–बाख्रा मारेको छ । वडा नम्बर–५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बाख्रा फर्ममा पसेर चितुवाले आईतबार राति २१ वटा खसी–बाख्रा मारेको हो ।
पौडेलले संचालन गरेको पशुपंक्षी तथा बाख्रा पालन फर्ममा राति चितुवा पसेर खसी–बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।
सन्तोषी सामुदायिक वनबाट आएको चितुवाले फर्ममा रहेका खसी–बाख्रा मारेको हुनसक्ने उनले बताए ।
व्यवसायी पौडेलले फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको जानकारी दिए ।
खोरमा रहेको थप एउटा खसी भने फेला नपरेको र अर्को एउटा एक महिनाको पाठीमात्रै ज्युँदो अवस्थामा फेला परेको उनले बताए । व्यवसायी पौडेलले एक महिना अगाडिमात्रै खसी–बाख्रा त्यो खोरमा सारेका थिए ।
‘पहिला घरमै पाल्दै आएको थिएँ,’ उनले भने, ‘एक महिना अगाडिमात्रै अलि फराकिलो ठाउँमा लैजान्छु भनेर खोर सारेको थिएँ । चितुवाले सबै सखाप पारिदियो ।’
अहिलेको खोर उनको घरको दूरी करिब तीन सय मिटर रहेको छ । २०-३० मिटर वरपर छिमेकीका घर रहे पनि कसैले पनि चितुवाभित्र प्रवेश गरी धमाधम बाख्रा मारेको थाहा पाएनन् । ‘म र परिवार गए राति ९ बजेतिर सबै हेरचाह गरी घर गएका थियौं,’ पौडेलले भने, ‘आज बिहान पाँच बजे खोरमा जाँदा सबै खसी बाख्रा मरेको देखेपछि मेरो होस–हवास उड्यो ।’
उनका अनुसार बाख्रा फार्ममा ढोकामा ताल्चा लगाएर गएका थिए । भेन्टिलेसनका लागि करिब दस फिटमाथि खुल्ला छोडिएको एक÷डेढ फिट ठाउँबाट खोरभित्र पसेको र सबै बाख्रा मारेपछि फेरि त्यही ठाउँबाट बाहिर निस्किएको देखिएको पौडेल अनुमान गर्छन् ।
चितुवाले बाख्रा फार्मको नजिकै खुल्ला ठाउँमा बाँधेर राखेका दुई वटा गाई र त्यससँगै रहेका झन्डै डेढ सय जति लोकल कुखुराको खोरमा चितुवाले कुनै पनि असर गरेको छैन ।
यसअघि समेत स्थानीय सामुदायिक वन रहेका चितुवा पटक–पटक सन्तोषी टोलमा आउने गरेको स्थानीयहरु बताउँछन् । उक्त सामुदायिक वनमा दुई वटा चितुवा रहेको अनुमान जिल्ला डिभिजन वन कार्यालय बर्दियाले अनुमान गरेको छ ।
‘दसैंको खर्च टार्ने चिन्ता’
चितुवाले मारेका ७ वटा खसी चन्द्रकान्त पौडेलले दसैंमा बेच्नको लागि ठिक्क पारेका थिए । त्यही खसी बिक्री गरेर काठमाडौंमा पढिरहेकी छोरीको फि तिर्ने र दसैंको गर्जो पौडेलको योजना रहेको थियो ।
बेच्नको लागि ठिक्क पारिएका खसी चितुवाले मारिदिएपछि उनीलाई छोरीको फि तिर्न र दसैं खर्चको जोहो गर्न समस्या भएको छ । ‘दसैं नजिक आइसक्यो र सात वटा खसी बचेर दशैंको गर्जो टारौंला भन्ने थियो,’ व्यवसायी पौडेलले भने, ‘छोरी काठमाडौं पढ्छिन् उनले दशैंअगाडि कलेजको फी तिर्नुपर्ने कुरा गरेकी थिइन् ।
घर आउन पैसा पठाउन भन्दै थिइन् । मैले खसी बेचेर पठाउँछु भनेको थिएँ । अब सबै बर्बाद भयो ।’ उनले झन्डै तीन लाख बढीका खसी बाख्रा चितुवाले एकै रातमा स्वाहा पारेको बताए ।
खसी बेचेर काठमाडौंमा छोरीलाई खर्च पठाउने पौडेलको सपना एकै रातमा चितुवाले चकनाचुर पारिदिएको छ । वनका मानिस, स्थानीय सरकार, प्रहरी प्रशासन र भेटनरीले क्षतिको विवरण ल्याउन आग्रह गरेको पौडेलले जानकारी
दिए । ‘उहाँहरूले आफैं फोन गरेर त्यो कुरा गर्नुभएको हो, पछि हेरौंला भन्नुभएको छ,’ उनले भने, ‘मेरो खोर त रित्तिसक्यो अब फेरि त्यसलाई चलाउन सहायता गरिदिए हुन्थ्यो ।
’ गुलरिया नगरपालिका वडा नम्बर– ५ की वडाध्यक्ष सावित्रा गौतमले सोमबार बिहान आफूले फार्मका अनुगमन गरेर फर्किएको जानकारी दिइन् । चितुवाले फार्मभित्र पसेर एउटा खसीसमेत तानेर लगेको फार्म सञ्चालक पौडेलले जानकारी दिएको वडाध्यक्ष गौतमले बताइन ।
वडाध्यक्ष गौतमले चितुवाले खोरभित्र पसेर एकै पटक यति धेरै खसी बाख्रा मार्नुलाई विपदको रूपमा लिन सकिने दाबी गरिन् । ‘वडाले विपदको क्षेत्रमा बजेट छुट्याएको र त्यो बजेट यस पटक वितरण गरिसकेको हुँदा के गर्ने भन्ने कुरा हामी छलफल गर्छौं,’ वडाध्यक्ष गौतमले भनिन् ।









प्रतिक्रिया दिनुहोस्