नेपालगन्ज ।
सोमबार मध्यान्ह नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकका लागि सबै जनप्रतिनिधि सभाहलमा प्रवेश गरे । मेयर डा. धवल शमशेर राणा, उपमेयर उमा थापामगरसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थित थिए ।
केही समयअघि उपमहानगरपालिकाले एक सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुका लागि साइकल वितरण गरेको थियो । बैठकको पहिलो एजेण्डा नै साइकल वितरणको विषय नै थियो ।
छलफल सुरु हुनेबित्तिकै वडा नम्बर ५ का अध्यक्ष कैफलबराह जोलाहा र ७ नम्बरका अध्यक्ष जुम्मन खाँले विषयवस्तु मोडे । बैठकमा कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकम पारदर्शी रुपमा खर्च नभएको र आफूहरुसँग समन्वय नै नगरी खर्च भएको भन्दै खाँ र जोलाहले असन्तुष्टि व्यक्त गरे ।
उक्त रकम आफूहरुसँग समन्वय नै नगरी खर्च गरिएको भन्दै छानबिनको माग गरे । तर, गरिब, विपन्न र दलितका लागि खर्च गर्न अख्तियारी दिइएको १२ लाख रुपैयाँ बजेट आफूहरुले प्रक्रियाअनुसार नै खर्च गरिएको कार्यपालिका सदस्य देउमल सुनारले प्रतिउत्तर दिए । प्रक्रियामा जाँदा वडाध्यक्षसँग समन्वय गर्नु नपर्ने सुनारको कथन थियो । तर, वडाध्यक्षहरुले जसरी खर्च भए पनि आफूहरुसँग समन्वय नगरेकाले पारदर्शी नभएको तर्क गरे ।
मेयर राणाले उनीहरुलाई विवाद नगरी प्रक्रियागत छलफल गर्न सुझाए । तर, उनीहरुले आरोप प्रत्यारोप गर्न छाडेनन् । विवाद यति उत्कर्षमा पुग्यो कि बैठकमै हात हालाहालको स्थिति नै बन्यो ।
हात हालाहालमा उत्रिएपछि वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंह छुटाउन गए । उनीहरुको झगडामा सिंहको आँखामा चोट लाग्यो । ‘सम्झाउँदा सम्झाउँदै पनि उहाँहरुले मान्नुभएन । हात हालाहाल नै गर्न थाल्नुभयो । अब बैठकमा मेयर र उपमेयर पनि हुनुहुन्थ्यो । झगडा गर्न त दिनुभएन । म छुटाउन गएँ ।
संयोगवस मेरो आँखामा चोट लाग्यो’, सिंहले भने । चोट लागेपछि आफू त्यहाँबाट सिधै अस्पतालतिर गएको उनको भनाइ छ । ‘म अस्पताल गइहालेँ । चोट त ठूलो रहेनछ । तर, पनि भोलिसम्म असर देखिन्छ कि भनेर चिकित्सकले भनेका छन् । पछि घटना त्यहीँ सामान्य भएछ’, उनले
थपे । नगरपालिकाले विपन्न समुदाय, गरिब र दलितका लागि खर्च गर्न १२ रुपैयाँको अख्तियारी दिएको थियो ।
उक्त रकम खर्च गर्दा टेन्डर आह्वान गरी प्रक्रियागत रुपमा नगरपालिकाको मापदण्ड अनुसार नै हुन्छ । कार्यपालिका सदस्यले भने उक्त प्रक्रिया पूरा गरेका थिए । तर, आफ्नो वडाध्यक्षहरुले आफूलाई नसोधेको भन्दै रिस साँधेको जस्तो देखिएको बैठकमा सहभागी एक जनप्रतिनिधिले बताए । उनका अनुसार प्रक्रिया पूरा भइ खर्च भएको विषयमा वडाध्यक्षले अनावश्यक विवाद निकालेका थिए ।
नगरपालिकाले तोकेको प्रक्रिया पूरा गरे वडाध्यक्षसँग समन्वय गर्नुनपर्ने तीं जनप्रतिनिधि बताउँछन् । उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालका अनुसार झगडा केही समयमै साम्य भएको थियो । रकम खर्चको विषयमा वडाध्यक्ष र कार्यापालिका सदस्यबीचको विवादले चर्को रुप लिँदा हात हालाहालमा परिणत भएको उनको भनाइ छ ।
उक्त प्रयासमा सिंहलाई चोट लागेको रिजालले बताए । पछि सबैको समन्वयमा विवाद साम्य भएको थियो । एउटै विषयमा विवाद गर्दा अन्य विषयहरु ओझेलमा पर्ने भन्दै हपारेपछि विवाद साम्य भएको थियो । पछि मात्रै गाईंगुई गरे पनि बैठक पनि सहज रुपमै सम्पन्न भएको थियो । यस विषयमा बुझ्न खोज्दा वडा नम्बर ५ का अध्यक्ष जोलाहा र ७ नम्बरका अध्यक्ष खाँले फोन उठाएनन् ।









प्रतिक्रिया दिनुहोस्