नेपालगन्जको त्रिभुवन चोक नजिकै मोटरसाईकलको ठक्करबाट ज्यान गुमाएकी नाबालिकाको न्यायको लागि विभिन्न संघ संस्थाले साथ दिन थालेका छन् ।
गत भदौं ७ गते राति सवा १० बजेको समयमा तीव्र गतीमा रहेको मोटरसाईकलको ठक्करबाट अढाई वर्षीया बालिका अनाबीया राइको ज्यान गएको थियो । घटना भएको एक महिना बढी भइसक्दा समेत प्रहरी प्रशासनले दोषी पत्ता लगाउन नसकेको भन्दै विभिन्न संघ संस्थाहरुले पीडितको आन्दोलनमा साथ दिन थालेका हुन् ।
सोही क्रममा आईतबार मुस्लिम महिला उद्यमी संघ नेपाल र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले तत्काल ठक्कर दिने मोटरसाईकल र चालकलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । दोषीलाई कारबाहीको माग गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टलाई ज्ञापनपत्र बुझाइएको हो ।
स्थानीय त्रिभुवन चोकबाट विरोध ¥यालीसहित प्रशासन कार्यालय पुगेका उनीहरुले न्यायको लागि दवाव स्वरुप ज्ञापनपत्र बुझाएका थिए । मुस्लिम महिला उद्यमी संघ नेपालकी केन्द्रीय समस्य कास्मिरा खातुनले अनाबीयालाई न्याय नमिलेसम्म आन्दोलन जारी राख्ने बताइन् ।
‘नाबालिकाको न्याय दिलाउनको लागि सबै आफ्नो ठाउँबाट लाग्नुपर्छ’ उनले भनिन्, ‘ठक्कर दिने मोटरसाईकल र चालकलाई पत्ता लगाएर प्रहरीले तत्काल कानुनी दायरामा ल्याउनुपर्छ ।’
उनले नेपालगन्ज नगरमा जडान गरिएको सीसीटिभी क्यामेराहरु तत्काल मर्मत गर्न समेत आग्रह गरिन् । महिला अगुवा तारा रोकायले घटनाको एक महिना पुग्दा समेत दोषी पक्राउ नहुनु आश्चर्यको बिषय भएको बताइन् ।
‘एउटा नाबालिकाले ज्यान गुमाएको एक महिना भइसक्यो । यत्रो समयसम्म प्रहरीले दोषीलाई पत्ता लगाउन नसक्नु आश्चर्यको कुरा हो’ उनले आक्रोशित हुँदै भनिन्, ‘सबैबाट रकम उठाएर जडान गरिएका सीसीटिभी क्यामेराहरु चुस्तदुस्त राख्नुपर्छ ।’ ज्ञापनपत्र बुझ्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले दोषीलाई पहिचान गरेर कारवाही गर्ने सवालमा प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताएका थिए ।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अघि बढाएकाले दोषी पक्राउ पर्नेमा आफु आशावादी रहेको उनले दाबी गरे । जिल्ला प्रहरी कार्यालय बाँकेले समेत घटनाबारे अनुसन्धान जारी राखेपनि उपलब्धी भने शून्य नै रहेको बताएको छ ।
पीडित परिवारले भने अनुसन्धानमा प्रहरीले चासो नदेखाएको आरोप लगाइरहेका छन् । घटना भएको एक महिना बितिसक्दा समेत प्रहरीले नाबालिकाको ज्यान लिने मोटरसाईकल र चालकको पहिचान गर्न सकेको भन्दै नेपालगन्जमा न्यायको लागि आन्दोलन भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्