तेल पेल्ने कोलबाट अपभ्रंस हुँदै कोहलपुर नाम रहेको भन्ने विश्वास गरिने कोहलपुर बाँकेको एकमात्र नगरपालिका हो । नेपाल सरकार मन्त्रिपरिषदको विसं. २०७१ वैशाख २५ गतेको निर्णय बमोजिम कोहलपुर नगरपालिका नामकरण गरिएको थियो ।
औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि शम्शेरगञ्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन गरिएको थियो ।
यस नगरपालिकामा जम्मा १५ वटा वडाहरु रहेका छन् । निर्वाचन क्षेत्र विभाजनका आधारमा कोहलपुर लुम्बिनी प्रदेशको निर्वाचन क्षेत्र नं. १ को ‘ख’ तथा प्रतिनिधि–सभा निर्वाचनको क्षेत्र नं. १ मा पर्दछ । लूटबहादुर रावत, यहाँका नगरप्रमुख हुन् । दुई कार्यकाल तत्कालीन कोहलपुर गाउँ विकास समितिको अध्यक्ष भएर काम गरे । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी कोहलपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । भद्र मेयरको रुपमा चिनिने रावत यो कार्यकालको अन्तिम वर्षमा छन् ।
बाँकेको दोस्रो ठूलो सहर कोहलपुरको विगत र वर्तमानसँग उनी प्रत्यक्ष रुपमा जोडिएका छन् । खास्सै चर्चामा आउन नचाहने तर, विभिन्न विषयमा विवादमा परिरहने उनी जनताको सेवा गर्नु आफ्नो मूख्य धर्म रहेको बताउँछन् । अब कम्तिमा ६ महिना मात्रै कार्यावधि रहेका उनी आफ्नो पालामा स्थानीय तहमा संघीयताको जग बसाउने काम भएको बताउँछन् ।
आज भन्दा चार वर्ष अघिको कोहलपुर र अहिलेको कोहलपुरमा धेरै भिन्नता आएको उनको भनाइ छ । कोहलपुरमा पूर्वाधार विकासदेखि, शैक्षिक, स्वास्थ्य र बालबालिका, महिला, जेष्ठ नागरिकको क्षेत्रमा धेरै नमूना काम भएका छन्, भने केही निर्माणधीन अवस्थामा रहेका छन् । प्रस्तुत छ, कोहलपुरको हिजोको अवस्था, आज भएको परिवर्तन र यसको भविष्यको विषयमा मिसनकर्मी शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश:
१. तपाईंले कोहलपुर नगरपालिकाको नेतृत्व गरेको पाँच वर्ष बित्दैछ, यो अवधिको अनुभव कस्तो रह्यो ?
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मैले नेतृत्व गरेको टिमलाई जनताले जिताउनुभयो । त्यो भन्दा पहिला म कोहलपुर गाउँ विकास समितिको दुईपटक अध्यक्ष भइसकेको थिएँ ।
व्यक्तिगत रुपमा भन्नुपर्दा पहिला अध्यक्ष र अहिले नगरप्रमुखका रुपमा काम गर्दा धेरै फरक अनुभव गरेको छु । गाविसको हुँदाको काम, कर्तव्य र अधिकार र अहिलेको स्थानीय पालिकाको काम, कर्तव्य र अधिकारमा धेरै अन्तर देखियो । पहिला हामी संघीय सरकारका थुप्रै कामका बारेमा सुन्थ्यौं । सोही अनुसार काम गर्नुपर्ने अवस्था थियो ।
तर, अहिले जनताद्वारा निर्वाचित भएर आइसकेपछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा भने जस्तै हामीले पनि प्रत्यक्षरुपमा अनुभूति गर्न पायौं । संघीय सरकारको संरचना जस्तै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्थानीय तहमा छ ।
संघीयता कार्यान्वयनका पहिलो व्याचका रुपमा संविधानले दिएको अधिकार अनुरुप कार्य सुरु गर्दा हामी शून्यमा थियौ । कोहलपुरका कुरा गर्दा हामी निर्वाचित भएर आउँदा मुस्किलले १० जना कर्मचारी मात्रै थिए, नगरपालिकामा । तर, अहिले भने स्वास्थ्य, शिक्षा, कृषि, पशु क्षेत्र, नगरपालिका र वडा समेत जोड्दा नगरपालिकामा ३ सय बढी कर्मचारी छन् ।
पहिला, नरपालिकाको कार्यालय समेत थिएन । सुरुवात गर्न निकै समस्या थियो । तर, एउटा अठोटका साथ काम गरियो । मलाई लाग्छ, अहिलेसम्म आइपुग्दा धेरै काम भएका छन् । अहिलेसम्म एक सय बढी कानून निर्माण गर्न सफल भएका छौं । १८ किलोमिटर भन्दा बढी कालोपत्रे भएको छ । मूख्य सडक क्षेत्रबाट वडा पालिकाको केन्द्रसम्म सडकको पहुँच पु¥याउने काम भएको छ ।
२. दुई वर्षअघि मिसन टुडे दैनिकको कुराकानीमा ‘अबको पाँचमा कोहलपुरमा देखिने गरी काम हुन्छ ’भन्नु भएको थियो । खासमा यो अवधिमा देखिने गरी के–के काम भए ?
महत्वपूर्ण प्रश्न गर्नुभयो, तपाइँ कोहलपुरका प्रत्येक वडामा जानुभयो भने अहिले न्यूनतम १ देखि अधिकतम् साढे २ किलोमिटर सडक कालोपत्रे भएको देख्नसक्नुहुन्छ । नगरपालिका र वडाको केन्द्रसम्म आवागमन गर्न नयाँ सडक विस्तार भएका छन् । शैक्षिक क्षेत्रमा धेरै विकास भएको छ ।
कोहलपुरका १५ वटा वडामा पक्की वडा कार्यालय बनाउन सफल भइयो मालपोत, कर बुझाउनदेखि सम्पूर्ण काम वडामा हुने गरेका छन् । नगरको आफ्नै आधारभूत अस्पताल सञ्चालन भएको छ । हामीले कोहलपुरमा थुपै नगर गौरवका आयोजना सञ्चालन गरिरहेका छौं । सबै नागरिकले अनुभूत गर्ने गरी साढे २७ करोड रुपैयाँको लगानीमा लामोदुरीको बसपार्क निर्माण कार्य भइरहेको छ ।
कोहलपुर–११ मा १० तले भ्यु टावर निर्माणधीन अवस्थामा छ । आठ तले पूरा भइसकेको छ । अब दुई तला पनि छोटो समय मै सम्पन्न हुनेछ । तेह्रविगाहमा खेलकुद मैदान छ । खेलकुदको विकासका लागि कवर्ड हल निर्माण कार्य भइरहेको छ । यस्तै, गौरवको आयोजना अन्तर्गत बाल अस्पताल निर्माण सुरु भइसकेको छ । अहिले निर्माणधीन अवस्थामा छ । यस्तै यो अवधिमा ८ वटा विद्यालयमा पक्की शैक्षिक भवन निर्माण सम्पन्न भइसकेका छन् ।
यस्तै, कोहलपुरमा तीनवटा आकाशे पुल निर्माणको लागि प्रदेश र केन्द्रमा बजेट माग भएको थियो । सोही अनुसार प्रदेश सरकारबाट पहिलोपटक एउटा आकाशे पुल निर्माणको लागि बजेट समेत विनियोजन भइसकेको अवस्था छ । सरकार नयाँ आएको छ, बजेट फेरबदल भएन भने चालू आ.व.मै निर्माण कार्य सुरु हुन्छ । वडा नम्बर–७ कोहलपुरकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण गरिएको छ ।
क्रिक्रेट रंगशाला समेत निर्माणधीन अवस्थामा छ । यी देखिनेगरी भएका विकास हुन् । अन्य थुपै्र राम्रा अभ्यास र काम कोहलपुर नगरपालिकामा हाम्रो पालामा भएका छन् । चालू आ.व.मा समेत धेरै योजना निर्माणधिन अवस्थामा छन् ।
३. अब समस्याको कुरा गर्दा कोहलपुर नगरपालिकामा छाडा पशु चौपायाको छ । विभिन्न दुर्घटना पनि यसै कारण भएका छन् । नगरक्षेत्रका सडकमा फोहोर व्यवस्थापनको चुनौती पनि यसै कारण देखिन्छ । यो समस्याको स्थायी समाधान हुन नसक्नुको कारण के हो ?
‘गुट्खा मुक्त नगरपालिका’ मेरो सपना थियो । मैले कोहलपुरमा प्रमुखका रुपमा आएदेखि नै यो मुद्दा उठाएको हो । त्यसको मैले औपचारिक रुपमा घोषणा समेत गरे । तर, त्यो सपना पूरा हुन सकिरहेको छैन, यसमा म आफू असफल भएको हो की भन्ने महशुस गरेको छु ।
किनभने मैले घोषणा गरेँ । जनतालाई आह्वान समेत गरेँ । कसैले पनि मानेनन् । यो राम्रो विषय हो । यो अभियानलाई सफल बनाउनुपर्छ भन्ने कसैको मन मष्तिस्कमा पुगेन ।
यसमा कोहलपुर उद्योग वाणिज्य संघले समेत साथ दिएन । स्वस्थ कोहलपुर बनाउन वाणिज्यमा गुट्खा बिक्रीवितरण मै रोक लगाउने विषयमा छलफल समेत भएको हो । तर, काम हुन सकेन । कसैले नमान्दा म निराश पनि भएको छु । राम्रो विषयलाई कसैले साथ दिँदो रहेनछ भन्ने महशुस भएको छ ।
यस्तै, यहाँको फोहोर व्यवस्थापनको लागि स्थायी समाधानको लागि हामी लागिपरेका छौँ । अहिले जटायू भन्ने एक संस्थाले सम्झौतामा फोहोर व्यवस्थापनको कार्य गरिरहेको अवस्था छ । उसले आफ्नो निजी जग्गामा ट्रष्ट बनाएर काम गरिरहेको छ ।
२–३ दिनको अन्तरमा हरेक घरबाट फोहोर उठिरहेको छ । फोहोर व्यवस्थापन गरेर मोहोर कमाउने उद्देश्य अनुसार संरचना खडा भइरहेका छन् । अब केही समयमा यसको दीर्घकालीन व्यवस्थापन हुने विश्वास गरेको छु । यस्तै ठेलाहरुको व्यवस्थापनको लागि पनि नगरपालिकाले प्रयास गरिरहेको छ । यसमा स्वयम् जनताबाट असहयोग भइरहेको छ ।
हामीले पनि सामान्य कारबाही समेत गरिरहेका छौं । यो विषयमा तत्काल टुंगिने देखिँदैन । पछि सबैले बुझ्नेछन् । ठेलागाडा व्यवस्थापनको लागि पनि विकल्पहरुको खोजी भइरहेको छ । नगर क्षेत्रको अर्को समस्याको रुपमा रहेको छाडा पशु चौपाया व्यवस्थापन अर्को टट्कारो विषय हो । यसको विषयमा हामी पहिलेदेखि नै व्यवस्थापनका लागि लागिपरेका छौं ।
पहिला नगरपालिकाभित्र आफ्नै जग्गाको खोजी भयो, पाइएन । पछि एक सामुदायिक वनसँग सहकार्य गरेर कान्जी हाउस बनाउने प्रक्रिया अन्तिमा आएर वन कार्यालयले स्वीकृति नदिँदा स्थगित भयो । त्यसपछि अरु विकल्पको खोजी भयो ।
जिल्ला समन्वय समिति अन्तर्गत बाँकेका आठवटै पालिकाको साझा कोष थियो । त्यहाँ करौडौं रकम समेत छ । त्यहाँ छलफल गर्दा नरैनापुरमा ठूलो पशु चौपाया व्यवस्थापनको लागि संरचना निर्माण गर्ने निर्णय भयो । अहिले निर्माण कार्य सुरु भएको भन्ने बुझिएको छ । त्यहाँ संरचना बन्यो भने यो विषयमा टुंगो लाग्छ ।
४. अब अलि व्यक्तिगत प्रसंग पनि जोडौं, लामो समयदेखि कार्यकर्ता, नेता र जनप्रतिनिधिका रुपमा जनतासँगै हुनुहुन्छ, एउटै व्यक्ति फरक भूमिकामा रहँदा कस्ता चुनौती भोग्नुभयो ?
तपाइँले भन्नुभएका ती भूमिका मध्ये सबैभन्दा बढी चुनौतीपूर्ण भूमिका मध्ये जनप्रतिनिधिका रुपमा मैले धेरै चुनौतीको सामना गर्नुपरेको अनुभव छ । कोहलपुर नगरपालिकाको प्रमुखको रुपमा कुर्सीमा बसेको पहिलो दिनदेखि नै धेरै चुनौतीको सामना गर्नुपरेको छ । चुनौतीकाबीच अहिलेसम्मको यात्रा चलिरहेको पनि छ । नगरपालिकामा आफ्नो टिम पूर्ण बहुमतमा नहुँदा केही समस्या हुँदो रहेछ ।
स्थानीय तहको विकासका लागि कुनै पनि पार्टी वा व्यक्तिमा बहुमत हुँदा महत्वपूर्ण भूमिका खेल्न सकिने अनुभव मैले गरेँ । ‘पहिलो गाँसमै ढुंगा’ भन्छन्, नी मैले पनि पहिलो पाइला मै ठेस खाएको थिएँ । कुरा २०७४ साल तिरको हो, निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भइसकेपछि पदभार ग्रहण भयो । लगत्तै पहिलोपटक बस्यौ । मैले तीनवटा प्रस्ताव गरे । तर, सहमति हुन सकेन । नेपाली कांग्रेस निकट जनप्रतिनिधिहरुले मेरो पहिलो प्रस्ताव अस्वीकार गरिदिए ।
‘सरसफाइ, वृक्षारोपण र घर मै गएर वृद्ध भत्ता वितरण गर्ने’ प्रस्ताव थिए । त्यतिबेला मलाई पाँच वर्ष काट्न सकिन्न कि भन्ने लागेको थियो । पछि एक घण्टा बैठक स्थगित भयो । फेरि सुरु भयो । अन्त्यमा उहाँहरु कन्भिन्स हुनुभयो । पछि हामीसँग कार्यपालिकामा बहुमत जुट्यो । तर, अहिलेसम्म मैले चार वर्षसम्म जति पनि निर्णय गरेको छु । मेरो प्राथमिकता सहमति नै हो । सोही अनुसार धेरै निर्णय सबै पक्षका जनप्रतिनिधिबीचको सर्वसहमतिमा गर्दै आएको छु ।
५. स्थानीय सरकारका जनप्रतिनिधिले जनतालाई भन्दा आफूलाई केन्द्रमा राखे, बढी नै सुविधाभोगी भए भन्ने आरोप लाग्ने गरेको छ, यसबारेमा के भन्नुहुन्छ ?
संघीयताले सिंहदरबारको अधिकारमा वडासम्म पुगेको कुरामा दुईमत नै छैन । स्थानीय तह कार्यान्वयनमा आएपछि वडा मै घर सेवा दिने काम भएको छ । जनताले घर आँगन मै स्वास्थ्यदेखि मालपोतसम्मका सेवा पाइरहेका छन् । वडा कार्यालय समेत गाउँघर मै बनिसके । उनीहरु नगरपालिकाको केन्द्रमा समेत आउनुपर्दैन ।
जनप्रतिनिधिहरु बढी सुविधाभोगी भए भन्ने कुरामा कतिपयले विरोधका लागि विरोध गरिरहेको मैले पाएको छु । यस्ता विषयहरु राम्रा कामको प्रचार रोकेर, कुप्रसचार गर्ने, गलत मनसायका साथ पनि आउने गरेका छन् । हामी आफू काममा लाग्छुपर्छ अरुको कुरा सुन्नुहुन्न भन्ने पक्षमा म छु । अझ म भन्छु हाम्रो कार्यकालमा थुप्रै दीर्घकालीन महत्वका काम भएका छन् ।
यस्ता धेरै काम भएका छन् । हामी आउँदा नगरपालिकाको आफ्नो कार्यालय थिएन । पहिलो र दोस्रो नगरसभा होटलमा भएको थियो । आज आफ्नै ठूलो भवन र सभाहल निर्माण भएको छ । वडामा समेत आफ्नै भवन निर्माण भइसके । स्वास्थ्य चौकी समेत वडा मै छन् । यसमा सबैभन्दा महत्वपूर्ण विषय शिक्षा हो । यसमा धेरै प्रकारका विकृति देखिए । हामी आउँदा समस्याका चाङ थिए ।
दरबन्दी मिलानको उल्झन थियो, त्यो विषयमा कोहलपुर नगरपालिकाले सफलतापूर्वक टुंग्याएको छ । हाम्रो कार्यकालमा कोहलपुरको समग्र क्षेत्रमा विकास र समृद्धिका धेरै आधार तयार भएका छन् । पछि आउने नयाँ नेतृत्वलाई सहज हुनेछ । हामीले स्थानीय सरकार सञ्चालनको लागि आवश्यक जग बसालेका छौं ।
६. अन्त्यमा, जनताको सेवामा विश्राम वा निरन्तरता योजना के छ ?
सैद्धान्तिक रुपमा मेरो नजरमा जनप्रिय, जननायक मदन भण्डारीले भन्नु भएको छ, ‘राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन’ । त्यसकारण, मेरो दिमाग थाकेको छैन । म एउटा दलको सिपाई भइसकेपछि दलले जहाँ, जे जिम्मेवारी दिन्छ, त्यहिँ जाने हो ।
म आफैं यो बन्छु भन्नु मुर्खता हो । अनुशासित कार्यकर्ता दलको जिम्मेवारी अनुसार अघि बढ्छ । तत्काल मेरो राजनीतिक यात्रालाई विश्राम दिने पक्षमा छैन । अवसरका लागि मिसन टुडे दैनिकलाई धेरै धन्यवाद ।










प्रतिक्रिया दिनुहोस्