नेपालगन्जकी नाबालिका ‘अनाबीया’को लागि न्यायको खोजी



नेपालगन्ज ।

नेपालगन्जको निकै व्यस्त स्थान त्रिभुवन चोक नजिकै मोटरसाइकलको ठक्करबाट अढाई वर्षीया नाबालिकाले ज्यान गुमाएको बिहीबार एक महिना पूरा भएको छ । स्थानीय अढाइ वर्षीया नाबालिका अनाबीया राइको ज्यान लिने मोटरसाइकल र चालकको भने प्रहरीले अहिलेसम्म पहिचान गर्न सकेको छैन ।

मोटरसाइकलको ठक्करबाट नाबालिकाले ज्यान गुमाएको एक महिना पूरा भएको दिन पारेर नेपालगन्जमा दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरिएको थियो ।

एक महिना पूरा भइसक्दा समेत प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई कानुनी दायरामा तत्काल ल्याउन माग गर्दै प्रदर्शन गरिएको हो । त्रिभुवन चोकमा नाबालिकाका आफन्त, स्थानीय बासिन्दा, बालबालिकाहरू जम्मा भएर अनाबीयालाई न्यायको लागि प्रदर्शन गरेका थिए । बिहीबार नै उनीहरूले जिल्ला प्रशासन कार्यालय बाँके अगाडि धर्ना दिँदै तत्काल दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र समेत बुझाए ।

त्रिभुवन चोकमा भएको प्रदर्शनमा बोल्दै बालअधिकारकर्मी साहिल अन्सारीले बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकको पहिचान गरेर तत्काल कारबाही गर्न प्रशासन आग्रह गरेका थिए । ‘बाँके प्रहरीले नाबालिकालाई न्याय दिलाउने कुरामा ध्यान दिएको देखिएन ।

एक महिनासम्म प्रहरी के गरेर बस्यो,’ उनले अगाडि भने, ‘नेपालगन्जकै अती संवेदनशील स्थानमै भएको घटनालाई मतलब नगर्नुको रहस्य के–हो ?’ उनले अहिले अनाबीया परेको घटना पछि अन्यहरूलाई समेत पर्नसक्ने भन्दै उनले सबैलाई बालिकाको न्यायको लागि आफ्नो ठाउँबाट दवाव दिन आग्रह गरे । बालअधिकारकर्मी अन्सारीले नगरका विभिन्न स्थानमा लगाइएका सीसीटिभी क्यामेराहरू तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन प्रशासनलाई आग्रह गरेका थिए ।

‘केही वर्ष पहिले सबैबाट रकम उठाएर नगरको सुरक्षाको लागि भनेर सीसीटिभी क्यामेराहरू जडान गरिएको थियो,’ उनले आक्रोश हुँदै भने, ‘ती क्यामेराहरूले काम गरेका छन् की छैनन् ? काम नगरेको भए प्रशासनले तत्काल मर्मत गरेर भएपनि सञ्चालनमा ल्याउनुपर्छ ।’

अधिकारकर्मी साहिदा वानुले एउटी नाबालिकाको न्यायका लागि सडकमा आउनु दुःखद भएको बताइन् । ‘एउटी नाबालिकाको न्यायको लागि तपाईं हामी सडकमा आउनु दुःखद कुरा हो । यो एउटा बाध्यता समेत हो,’ उनले भनिन्, ‘तत्काल घटनामा संग्लन पक्राउ नपरे आन्दोलन अझै गर्नुपर्ने दिन आउन सक्छ ।’

प्रहरी प्रशासनले निष्पक्ष भएर घटनाको छानबिन गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीको पहिचान गरी कारबाही गर्नुपर्ने लगायतका माग राखेर बृहत नागरिक आन्दोलनका नाममा विरोध प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा सहभागीहरूले त्रिभुवन चोकसहित नगरमा राखिएका सीसीटिभी क्यामेराको तत्काल मर्मत गरी सुचारु गर्नुपर्ने, त्रिभुवन चोकमा ट्राफिक प्रहरी राख्नुपर्ने, ठाउँ–ठाउँमा ब्रेकर राख्नुपर्ने लगायतका माग गरेका थिए ।

सो अवसरमा बोल्दै मृतक बालिकाका ठूलो बुवा अल्ताव राईले पीडित परिवारलाई प्रहरीले बेवास्ता गरेको बताए । ‘अहिलेसम्म हामीलाई प्रहरीले अनुसन्धानमा भए गरेका कामहरूबारे केही पनि जानकारी गराएको छैन,’ उनले भने, ‘प्रहरीले न्याय दिनुको साटो हामीलाई अझै पीडा थपिदिएको छ ।’

एक हप्ताभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी उनले दिए । बिहीबार नै प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेका उनीहरूले विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएका थिए ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले बालिकालाई ठक्कर दिने मोटरसाईकल र चालकलाई खोजी गरिरहेको जानकारी दिए । ‘हामीले घटना भएको दिनदेखि नै खोजी गरिरहेका छौं,’ उनले भने, ‘घटना भएको एक महिना हुँदासम्म पनि खास्सै अनुसन्धानमा प्रगती भएको छैन ।’

रातिको समयमा घटना भएकाले अनुुसन्धानमा अली समस्या भइरहेको उनी बताउँछन् । ‘नजिकै त्रिभुवन चोकमा राखिएको सीसीटिभी क्यामेरा समेत बिग्रिएको रहेछ,’ उनले भने, ‘त्यसले पनि अनुसन्धानमा समस्या बनायो । अन्य तरिकाबाट अहिले अनुसन्धान अगाडि बढाएका छौं ।’

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रबार