कार्यकर्तालाई ओलीको आश्वासन: ‘हामी विजय यात्रामा छौं, पार्टी सुद्दिकरण भएको हो’



नेपालगन्ज ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई निराश नहुन आश्वासन दिएका छन् । बुधबार नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले केही मानिसहरु बाहिँरिँदैमा पार्टी सकिने अवस्थामा नपुगेको दावी गरे ।

सँधैझै ओलीले नेपालगन्जको सम्बोधनमा पनि पार्टी फुटाएका माधव नेपाल र नेपालको साथ लिएर सरकार ढालेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचनामै अधिक समय व्यतित गरे ।

उनले भने, ‘अरुका लागि भ¥याङ बनाउँदै आफ्नै सरकार ढाल्ने कसरी कार्यकर्ता हुनसक्छन्, उनीहरु जाँदैमा पार्टीलाई कुनै घाटा भएको छैन । अझै हामी मजबुद र सदृढ भएका छौं ।’ उनले नेता कार्यकर्तालाई अर्को विजययात्राका लागि तयार रहन निर्देशन समेत दिए ।

पार्टी एकता र कम्युनिष्ट आन्दोलनलाई उचाईमा पु¥याउन आफूले निकै कोशिस गरे पनि प्रचण्ड र माधव नेपालकै कारण सफल नभएको उनको भनाइ छ । ‘जसले जनमतको अभिमान राख्न सकेनन् ।

जुन वाचाका साथ निर्वाचनमा गएका थियौं । त्यसलाई लत्याए, उनीहरु नै मलाई प्रतिगमनकारी भन्दैछन्,’ ओलीले भने, ‘स–साना गुटमा रमाएकाहरुले ठूलो संकठनमा आफ्नो अस्तित्व नामेट हुने देखेपछि पार्टी फुटाएर पद लिन तल्लीन भए ।’ उनले अर्को चुनावमा एमालेले पुनः बहुमत ल्याउने दावीसमेत गरे ।

‘हामीलाई केही भएको छैन । अझै पनि हाम्रो सरकारले गरेका कामहरु देखेर आत्तिएका छन्’, गठबन्धनलाई लक्षित गर्दै ओलीले भने, ‘केही छैन । जनताले चिनेकै छन् । तपाईंहरु तयार हुनुहोस्, अर्को विजययात्रा अवश्य हुनेछ ।’

कुटनीतिक सन्तुलन बिग्रियो

एमाले अध्यक्ष ओलीले वर्तमान सरकार वैदेशिक नीतिमा असफल भएको बताएका छन् । उनले सरकारले कुटनीतिक सम्बन्ध नै बिगारेको बताए । ‘हामीले सबैतर्फ सन्तुलनमा राख्ने प्रयास त गरेका थियौं । तर, अहिले कुनै एक देशलाई खुसी बनाउनका लागि बनाइएको कम्फर्टेबल सरकारले न उत्तरतिर राम्रो सम्बन्ध बनाएको छ न दक्षिणतर्फ नै’, ओलीले भने ।

आफूले भारतको परनिर्भरतालाई अन्त्य गर्दै चीनतर्फ नाका खोलेपछि विदेशीसामु लम्पसार पर्नेहरु आत्तिएको बताए । एमालेको सरकार ढले पनि समग्रमा सरकारले गरेका कामले दीर्घकालीन रुपमा जनतालाई नै फाइदा पुग्ने उनको भनाइ थियो । उनले भने, ‘भलै हामी सरकारबाट बाहिरियौं । तर, हामीले गरेका कामले जनतालाई दीर्घकालीन रुपमा फाइदा पुग्ने छन् ।

जनताले चिनेका छन् । त्यसको असर अब आउने चुनावमा अवश्य देखिनेछ ।’ जनताप्रति भरोसा नभएकै कारण सत्ता प्राप्तीका लागि गठबन्धन अदालतको शरणमा गएको ओलीको भनाइ थियो । दुई महिनासम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्ने सरकारले जनतालाई समृद्धि दिने कुरा कल्पना बाहिरको भएको ओलीले बताए । साथै उनले आफ्नो नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेज गर्दै राजदूत समेत फिर्ता बोलाएकोमा आपत्ति जनाएका छन् ।

‘सबै राजदूतहरु फिर्ता बोलाइएको छ । कम्तिमा हामीले कार्यकर्ता त भर्ती गरेका थिएनौं’, ओलीले भने, ‘आफ्ना मान्छे पनि बोलायौं भनेर भन्नलाई प्रधानमन्त्रीले जापानबाट आफ्नी सासूलाई पनि फिर्ता बोलाउनुभएछ ।

जबकी उहाँको पदावधि सकिएकै थियो । बरु म सरकारमा हुँदा एक वर्ष अवधि थप गरिदिएको थिएँ ।’ बुधबार बिहानै काठमाडौंबाट आएका ओलीले नेपालगन्जमा सम्बोधन गर्नुअघि बर्दियामा सम्बोधन गरेका थिए । उनको बर्दिया र नेपालगन्जमा भव्य स्वागत गरिएको थियो ।

एमालेको बुई चढेर माओवादीले वैतरणी तर्न खोज्यो

नेपालगन्जको कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि सहभागी भएका थिए । पोखरेलले माओवादीलाई भरोसा गरेर गल्ती गरेको बताए । उनले सकिसकेको माओवादीले एमालेको बुई चढेर वैतरणी तर्न खाजेको पोखरेलले बताए । ‘माओवादी लगभग सकिसकेको थियो ।

पार्टी सकिन लागेकोमा प्रचण्ड साह्रै चिन्तित हुनुहुन्थ्यो’, नेता पोखरेलले भने, ‘पार्टी जोगाउनका लागि प्रचण्डले एमालेको बुई चढेर वैतरणी तर्न खोज्नुभयो ।’ चुनावी तालमेल नभएको भए माओवादी राप्रपाकै हालतमा हुने पोखरेलको जिकिर थियो । ‘प्रचण्डले जसरी युद्धकालमा ढाडमा टेकेर टाउकोमा हिर्काउनु नीति लिनुभएको थियो ।

त्यसरी नै माधव नेपालको ढाडमा टेकेर हाम्रा अध्यक्ष केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो’, उनले भने, ‘तर, बेलैमा ओलीले त्यसको चाल पाएपछि सतर्क भइहाल्नुभयो । माधव नेपाल आज जसरी सडकमा पुग्नुभएको छ ।

त्यसरी नै प्रचण्ड पनि अवश्य एकदिन पुग्नुहुनेछ ।’ उनले पार्टी एकता नगरेको भए अहिले सिंगो एमाले हुने र चुनावमा पनि स्पष्ट बहुमत आउने दावी गरे । यस्तै आगामी चुनावमा पनि एमालेको शाख अहिलेको भन्दा अझै बढ्ने पोखरेलको जिकिर थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ७ गते बिहीबार