दाङको गढवा गाउँपालिका वडा नम्बर– ८ कोइलाबास नाकास्थित रामबहादुर खत्रीको खरले छाएको सानो घर छ । नेपाल–भारत सीमाक्षेत्र नजिकै कोइलाबास नाकामा दुःख–सुख बसेकै छन् खत्री दम्पती । उमेर भाका छोराछोरी भविष्य बनाउन भन्दै सहर पसे । तर, खत्री दम्पती जन्मेहुर्केको ठाउँ छाड्न सकेनन् । खरको छानो भएको घर खत्रीको मात्रै हो ।
अन्यको पहिलो चरणमा वडाबाट सबै घर जस्तापाताले छाएका छन् । खत्रीको घरमा पहिलो पटक खरको छाना हटाएर जस्तापाताले छाइएको छ । ‘फुसको छानो भएको घरमा बिजुली बाल्दा आगो लाग्छ कि भन्ने डर थियो,’ खत्रीले भने, ‘अब दसैं पनि आउँदैछ ।
त्यतिबेलासम्म जस्ता पाता छाएर नयाँ घर बनाउने योजनामा छु ।’ जस्तापता आएकाले अब खरको छानो फालेर नयाँ सुरक्षित घर बनाउने योजना सुनाए । ‘टिनले छानो छाएपछि बिजुली पनि जोड्छु । सँधै अँध्यारोमा बितेको हाम्रो पर्व यसपाली झलमल्ल बनाउने सोँचमा छु’, उत्साहित हुँदै खत्री भन्छन् ।उनले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विपन्नको पीडा बुझ्दै गएको बताए ।
‘वडामा जनप्रतिनिधि आएपछि हाम्रो समस्या बुझ्न थालेका छन् । कतिबेला कुन विपत् आइलाग्ने हो र भाग्नुपर्ने हो भन्ने अवस्थामा बाँचिरहेका थियौं । अब आफ्नै सुरक्षित घरमा बस्ने दिने टाढा छैनन्,’ उनी भन्छन्, ‘पहिले मट्टितेलबाट कुपि बालिन्थ्यो । अब विजुली बत्ती बाल्ने भइयो । अब खरको छानो हटेर बलियो टिनको छानो पनि बन्ने भयो ।’
उनले यसपटकको पर्व उल्लासका साथ मनाउने योजना बनाएका छन् । पहिलो चरणको फुसको छानो हटाउने अभियान अन्तर्गत सातलाख बजेटबाट २५ घर परिवारलाई वितरण गरिएको जस्तापाता दोस्रो चरणमा गढवा गाउँपालिका वडा नम्बर ८ को वडाकार्यालयले कोइलाबास नाकाका पन्ध्र घरधुरीलाई प्रतिपरिवार २० जस्तापाताका दरले वितरण गरेको छ ।
फुसको छानो हटाउने अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भई फुसका छानोमा बसिरहेका कोइलाबास नाकाका थप पन्ध्र घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो । विपन्न वर्गका मानिसहरू बर्खायाममा हावापानी र हिँउदमा जाडोबाट जोगिनसमेत नसकिरहेका बेला वडा कार्यालयले फुसको छानो हटाउने अभियान ल्याएर ठूलो राहत दिएको छ ।
आर्थिक अवस्था कमजोर भई खरको छानोमुनि बसिरहेका विपन्नहरू अब जस्तापाताले घर छाउने भएपछि खुसी छन् । प्रतिपरिवार २० जस्तापाता वितरण गरिएको छ ।
वडाले चारलाख ५० हजार बराबर मूल्यको जस्तापाता वितरण गरेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिए । उनले यस आर्थिक वर्षमा बाकी रहेका ४५ घरधुरीलाई जस्तापाता वितरण गर्ने तयारीमा रहेको बताए । ‘वडाभित्र रहेका सबै खरको छानो हटाउने योजना छ । सुरक्षित आवासको ग्यारेण्टी वडा सरकारले गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।
नेपाल–भारत सीमाक्षेत्रमा बसोबास गर्दै आएका स्थानीय वीरबहादुर सुनारले जस्तापाता पाएपछि खुसि हुँदै जनप्रतिनिधलाई धन्यवाद दिए । ‘सबै ठाउँका जनप्रतिनिधिले यसैगरी जनताको समस्या बुझ्दै जाने हो भने कोहीले असुरक्षित रुपमा बसोबास गर्नुपर्दैैन’, उनी भन्छन् । उनले विपन्नको समस्या बुझेर समस्या समाधानको प्रयास गर्नसके जनप्रतिनिधिप्रति स्थानीय जनताको सोच पनि सकारात्मक हुने बताए ।
त्यस क्षेत्रका लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले अब अन्य घरमा पनि जस्ता छाउने कार्यक्रम अगाडि बढेको बताए । उनले खरका छाना हटाएर जस्तापाता छाउने काम निरन्तर भइरहेको जानकारी गराए । कोइलाबास नाकामा ४५ घरधुरी अझै खरको छानोमुनि छन् । आगामी वर्षभित्र कोइलाबास क्षेत्रमा सबैको खरको छानो हटाएर टिनको छानो हालिने योजना बनाइएको सांसद थारुले बताए ।










प्रतिक्रिया दिनुहोस्