लमही बजार व्यवस्थित गर्न उवासंघको पहल: ‘निशानामा नाला बाहिर सामान राख्ने व्यापारी’



शिवु खनाल । दाङ ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले नालाभन्दा बाहिर अस्थायी रुपमा विभिन्न टहरा निर्माण गरी पसल सञ्चालन गर्दै आएका लमही बजारका व्यवसायीलाई स्थान खाली गर्न निर्देशन दिएको छ । संघका अध्यक्ष खगेश्वर खनालको नेतृत्वमा आइतबार बजारमा उत्रिएको टोलीले स्थलगत अनुगमन एवम् निरीक्षण गर्दै टहरा हटाउन निर्देशन दिएको थियो ।

उक्त स्थानमा व्यापारीहरूले विगत केही वर्षदेखि अस्थायी टहरा निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएका छन् । नालाभन्दा बाहिर अस्थायी रुपमा पसल सञ्चालन गरेका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको र बजारको सौन्दर्यता कुरुप भएको अध्यक्ष खनालले बताए ।

अस्तव्यस्त स्थितिलाई सुधार गर्नका लागि अस्थायी रुपमा बनाइएका टहरा हटाउन निर्देशन दिइएको अध्यक्ष खनालको भनाइ छ । ‘नालाभन्दा बाहिर सामान राख्नेहरू, सडक किनारमा ठेला व्यवसाय गर्नेहरूलाई आफ्नो व्यवसायलाई निश्चित ठाउँमा राख्न अनुरोध गरेका थियौं,’ उनले भने, ‘कतिले पहिल्यै हटाए । तर, कतिले मानेकै छैनन् ।

अटेर गरेपछि हामी सडकमै उत्रिएर हट्न निर्देशन दिन बाध्य भएका हौं ।’ उनले बजार सुधार नगर्दासम्म व्यवस्थित नभइने भएकाले अस्थायी रुपमा व्यवसायी गर्नेहरूले निश्चित ठाउँमा जानुपर्ने बताए । विगतको तुलनामा लमहीमा दैनिक व्यवसायी र व्यवसायिक संस्थाहरू थपिँदै गएकाले समयमै व्यवस्थित गर्न आवश्यक देखिन्छ । बजारमा उपभोक्ताको चहलपहल पनि बढ्दो छ ।

सडक व्यवसायीका कारण उपभोक्तालाई असर परेको उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेलले बताए । उनले भने, ‘सडकको क्षेत्र मिचेर बनाइएका संरचनालाई हटाउँदै फराकिलो सडक बनाउन आवश्यक छ । अहिले तत्काल कसैलाई चित्त नबुझे पनि दीर्घकालीन रुपमा सबैलाई फाइदा नै हुनेछ ।’

यता अस्थायी रुपमा व्यवसाय गरिरहेका व्यवसायीहरूले भने आफूहरूलाई निश्चित ठाउँमा स्थानान्तरण गरेर मात्र हटाउन माग गरेका छन् । साना तथा ठूला व्यवसायीलाई उद्योग वाणिज्य संघले समान व्यवहार नगरेको उनीहरूको गुनासो छ । नगरपालिकाले केही दिनअघि अस्थायी टहरा हटाउन निर्देशन दिँदै सूचना दिएको थियो ।

आफूहरूसँग छलफल नै नगरी नगरपालिकाले हट्न निर्देशन दिएको भन्दै रोजीरोटी छिन्ने प्रयास गरेको टहरा व्यवसायीको गुनासो छ । त्यतिमात्र नभई नगरपालिकाले आफुखुसी घरटहरा हटाएर सडकमा ल्याउन खोजेको उनीहरूको आरोप छ । आफूहरूलाई अर्को ठाउँमा स्थानान्तरण गरे अहिले व्यवसाय गरिरहेको स्थान छाड्न तयार छन् ।

यस्तै उद्योग वाणिज्य संघले छाडा चौपाया व्यवस्थापनको काम पनि छिट्टै गर्ने तयारी गरेको छ । उपाध्यक्ष केशवराज पोख्रेलका अनुसार छाडा चौपायाका कारण दुर्घटना बढ्दै गएकाले छिट्टै त्यसको व्यवस्थापनका लागि पनि छुट्टै योजना ल्याइने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ५ गते मंगलबार