जन्मान्तर कायम राख्न चाहने महिलाहरूका लागि एकदिने इम्पलान्ट शिविर सञ्चालन गरिएको छ । दाङ देउखुरी गढवा गाउँपालिकाको आयोजना एवम् आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवाको आर्थिक सहयोग तथा सहकार्यमा आठौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा शिविर सञ्चालन गरिएको हो ।
उक्त शिविरबाट गढवा गाउँपालिका वडा नम्बर १ को गोबरढिया स्वास्थ्य चौकीबाट १७ र सामुदायिक स्वास्थ्य इकाई कालाकाँटेबाट ३० जना महिलाले इम्पलान्ट राखेका छन् भने दुईजना महिलाले पिल्स चक्की प्राप्त गरेका छन् ।
गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले महिलाहरूका लागि आयोजना गरेको इम्प्लान्ट शिविरमा गोबरडिहा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई कालाकाटेबाट ४७ महिलाले इम्पलान्ट राखेका हुन् । ‘कोभिड १९ को महामारी परिवार योजना सेवामा सबैको बराबरी’ भन्ने मूल नाराका साथ आठौँ राष्ट्रिय योजना दिवसको अवसरमा आयोजित शिविरबाट महिलाहरुले गाउँमै सेवा लिएको आम्दा नेपाल मातृशिशु परियोजनाका प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिए ।
उनले अघिल्लो वर्ष कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिने अभियान अन्तर्गत सचेतना सम्बन्धी प्रचारप्रसार मात्र गरिएको र यसवर्ष महिलाका लागि शिविर सञ्चालन गरिएको बताए । कोरोना संक्रमण दर विस्तारै कम भएकाले भौतिक उपस्थितिमै सेवा प्रदान गर्न सुरु गरिएको उनको भनाइ छ । आँगनमै सेवा लिन पाउँदा स्थानीय महिला खुशी भएका छन् ।
उक्त सेवाका लागि महिलाहरुलाई स्वास्थ्य चौकीसम्म जान समस्या थियो । तर, शिविरमा पहिलोपटक यति धेरै महिलाले एकैसाथ इम्प्लान्ट राखेका हुन् । गाउँपालिकाका प्रवक्ता बाबुराम अधिकारीका अनुसार गाउँमै आएर महिलाहरुका लागि सेवा प्रदान गर्ने आम्दाको अभियानले महिलालाई परिवार नियोजनको सेवाको पहुँचमा पु¥याएको बताए ।
उनले यस्ता सेवामुलक शिविरहरुलाई अन्य ठाउँमा पनि विस्तार गर्न सहयोगी संस्थालाई अनुरोध गरे । कोभिड–१९ संक्रमणका कारण परिवार नियोजनको सेवा महिलाले लिन सकेका थिएनन् । लकडाउनका कारण महिलाहरु स्वास्थ्य संस्थासम्म जान सकेका थिएनन् ।
स्थानीय पार्वती परियारले गाउँमै उक्त सेवा लिन पाएकोमा खुसी व्यक्त गरिन् । उनले कोरोनाका कारण घरबाहिर निस्कन नसक्ने अवस्था हुँदा दुई वर्षदेखि उक्त सेवा लिन नपाएका बेला शिविरले मद्दत गरेको उल्लेख गरिन् ।
के–हो इम्प्लान्ट ?
इम्प्लान्ट महिलाको पाखुराको छालामुनि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट राख्न र झिक्न सकिने परिवार नियोजनको अस्थायी साधन हो । यसको एक टिका लगाएपछि ५ वर्षसम्म काम गर्छ । सन्तानको रहर भएमा झिकेपछि गर्भधारण गर्न सकिन्छ ।
यो प्रभावकारी र सुरक्षित छ । इम्प्लान्ट झिकिसकेपछि २÷३ दिनभित्रै महिलाको प्रजनन क्षमता पहिलेकै अवस्थामा फर्किन्छ । सुत्केरी भएको ४५ दिनमा राख्न सकिन्छ साथै स्तनपान गराई रहेकी महिलालाई पनि उपयोगी हुन्छ ।
यो विधि पहिलो बच्चा ढिला पाउन चाहने, लामो समय जन्मान्तर गर्न चाहने र बच्चाको रहर पुगिसकेका दम्पतिहरुका लागि प्रभावकारी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्