कोहलपुर ।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा मान्छे खाने पाटेबाघ नियन्त्रणमा लिन समस्या भएको छ । पाटेबाघ नियन्त्रणमा लिनको लागि आहाराका रुपमा राखेको पाडो खान नआएपछि समस्या देखिएको हो । अघिल्लो आईतबार राती राप्ती सोनारी गाउँपालिका, १ गाभरमा एक भारतीय नागरिकलाई पाटेबाघले खाएको थियो ।
सोही बाघलाई समात्नको लागि आहाराको रुपमा राखिएको पाडो पाँच दिन भैसक्दा समेत नखाएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । ‘पाँच दिनअघि आहाराको रुपमा राखिएको पाडो पाटेबाघले अझै खाएको छैन’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह भने, ‘पाडो खान आउँदा बाघ समात्ने हाम्रो योजना थियो । बाघ नै नआएपछि हाम्रो योजना सफल भएन ।
हाम्रो योजना सफल भएन ।’ अनेक प्रयास गर्दा समेत मान्छे खाने पाटेबाघ नियन्त्रणमा लिन नसकिएपनि बाघ समात्न खोर, हात्तीसहित प्राविधिक टोली फिल्डमै रहेको उनले जानकारी दिए । पाटेबाघले मान्छे खाएको गाभर क्षेत्रमा नै आहाराको रुपमा राखिएको पाडो अझै पनि यथास्थितीमै राखिएको छ । पछिल्लो पटक भदौं २९ गतेदेखि नै गाभर क्षेत्रमा पाटेबाघ नदेखिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
उक्त क्षेत्रमा निकुञ्जले सेन्सरसहितको सीसि क्यामेरा राखेको थियो । त्यो क्यामेरामा समेत अहिलेसम्म पाटेबाघ नदेखिएको प्रमुख संरक्षण अधिकृत शाहले जानकारी दिए । मान्छे खाने पाटेबाघ नियन्त्रणको लागि निकुञ्जले दुई वटा घरपालुवा हात्तिसहित ठूलो संख्यामा नेपाली सेना परिचालन समेत गरेको थियो । ‘मान्छे खाने बाघ नियन्त्रणमा लिने हाम्रो प्रयास जारी छ ।
यतिबेला पाटेबाघ नियन्त्रणमा लिन खोरसहित प्राविधिक टोली जङ्गलमै खटेका छन्’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले, ‘एकपटक सिकार गरेको आहारा नसक्कुञ्जेल पटक–पटक बाघले सिकार गरेको आहारा खान आउँछ ।’ बाघले मान्छे खाएको घटनापछि त्रसित बनेका सो क्षेत्रका सर्वसाधरणले चितुवा वा अन्य वन्यजन्तु देखेमा बाघ नै आएको भन्ने गरेको उनले बताए ।
सो क्षेत्रमा सुरक्षित रहन र सर्तकता अपनाउन बाँके राष्ट्रिय निकुञ्जले सबैलाई आग्रह गरेको छ । बाघले मान्छे खाएको घटनास्थलको उत्तरतर्फ निकुञ्ज र दक्षिणतर्फ राप्ती नदिसँगै डिभिजन वन रहेको छ । निकुञ्जले बस्ती छेउछाउ रहेका झाडी सफा गर्ने अभियान समेत चलाएको छ । घर छेउछाउ रहेका झाडीमा बाघ लुक्ने र आक्रमण गर्न सक्ने भएको भन्दै यो अभियान चलाइएको साहले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्