दाङ देउखुरीस्थित जखेराताल पर्यटकको रोजाई बन्दै गएको छ । पछिल्लो समय यहाँ विभिन्न दृष्यावलोकन गर्ने, फोटो खिच्ने, रमाइलो गर्ने र डुङ्गा सफारीको लागि पर्यटकको गन्तव्य बन्दै गएको हो ।
जखेरातालबाट देखिने दैनिक मनमोहक दृष्यले मन लोभ्याउने गरेको छ । त्यहाँबाट देखिने हरियो वन, अग्ला–अग्ला चुरे पहाड हेर्दै फुरुंग भएर पर्यटक कोही धमाधम फोटो खिचिरहेका देखिन्छन्, त कोही सेल्फी खिचिरहेका हुन्छन् ।
यतिमात्रै नभएर एकपटक डुङ्गामा बसेर एक सेल्फी नमारी त कहाँ धित मर्छ र, उनीहरुको । कोही तालको वरपर बनाइएका पार्कमा घण्टौं रमाउँछन् । कोही डुङ्गा सफारी गर्दै साथीहरुबीच एकापसमा पानी छ््यापाछ्याप गर्दै रमाइरहेका हुन्छन् । कोरोना संक्रमणको कहर विस्तारै कम हुँदै जाँदा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
कोरोना महामारीका कारण केही महिना बन्द भएको जखेराताल खुले लगत्तै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढिरहेको छ । विशेषगरी शनिबारका दिन पर्यटक बढी आउने गरेका छन् ।
बिदाका दिन पर्यटकले जखेरातालको प्राकृतिक सुन्दरता नियाल्ने प्रयास गरेको देखिन्छ । जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडे तालमा दैनिक पाँच सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको बताउँछन् । ‘कोरोना कहर सामान्य बन्दै गएपछि पर्यटक आउन थालेका छन् ।
तालमा अवलोकनको लागि आउने आन्तरिक पर्यटकको संख्या बढी छ ।’ उनले भने, ‘शनिबारका दिन धेरै पर्यटक आउँछन् । अन्य दिनमा पनि उत्तिकै घुइँचो लाग्ने गरेको छ ।’ जखेरातालमा दाङसहित छिमेकी जिल्ला कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायतका ठाउँका पर्यटकहरु आउने गरेको उनको भनाइ छ ।
यस्तै तालमा सफारीका लागि आएका लमही–९ का अमिलियाका किशोर घर्तीका अनुसार घरमा बसेर दिन बिताउन कठिन हुन्छ । जखेरातालमा रहेको डुङ्गा सफारी गरेर रमाउँदा दिन बितेको पत्तो नै नहुने उनले बताए ।
गाउँका साथीहरुसँग डुङ्गा सफारीको लागि आउने गरेको स्थानीय पर्यटक घर्तीले जानकारी दिए । जखेरातालले नयाँ–नयाँ व्यक्तित्वबीच परिचित गर्ने मौका समेत मिल्ने गरेको उनको अनुभव छ । उनी जस्तै धेरै पर्यटकहरुको रोजाइ अहिले जखेराताल बनिरहेको छ ।
पर्यटकको घुइँचो र पर्यटकीय सम्भावना देखेर अहिले उक्त तालमा विभिन्न किसिमका सुविधा थप्ने काम भइरहेको छ । जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यसमिति सदस्य केशवराज पोख्रेलले पार्कलाई व्यवस्थित गर्दै लगिएको बताए ।
तालमा घुम्नको लागि आउने पर्यटकको आकर्षणको केन्द्र बनाउने गरी तयारी थालिएको उनले जानकारी दिए । उनका अनुसार लमही नगरपालिकाले जखेरातालमा पार्क निर्माण गरि पर्यटकको आकर्षणको केन्द्र बनाउन बजेट विनियोजन गरेको थियो । जखेरातालमा आउने पर्यटकलाई मध्यनजर गर्दै नजिकै रेष्टुराँसमेत सञ्चालन गर्न थालेका छन् ।
जखेराताल थप व्यवस्थित भएमा पर्यटकको आकर्षण हुनसके पर्यटक आएमा व्यापार व्यवसायसमेत हुने हुँदा स्थानीयवासीलाई आयआर्जनको पाटोसमेत हुने स्थानीयवासी विएम बस्नेतको भनाइ छ ।
स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम जखेरातालमा तालमा तीनवटा डुङ्गा सञ्चालन गरिएको छ । केही समयअघि दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले एक कार्यक्रमका बीच डुङ्गा सन्चालनको उद्घाटन गरेका थिए ।
जखेराताल लमही नगरपालिका वडा नं.३ मा पर्दछ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्डबरी गाउँबाट करिब डेढ किलोमिटर उत्तरमा पर्ने यो ताललाई जनप्रतिनिधि चुनिएपछि व्यवस्थित बनाउने काम जारी छ । नेपाल शहरी शासकीय पूर्वाधार साझेदारी विकास आयोजना संघीय अनुदान मार्फत २० लाख बजेट मार्फत पार्क बनाउने काम भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्