मुख्यमन्त्रीको सम्पर्क कार्यालय दाङमा राखिने



कोहलपुर ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी तोकिएको स्थान दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सम्पर्क कार्यालय राख्ने भएको छ ।

शुक्रबार साँझ बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले दाङको राप्ती गाउँपालिका २ लालमटियामा प्रदेशको सम्पर्क कार्यालय रहने गरि पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयले भौतिक पूर्वाधारको व्यवस्था गर्ने निर्णय गरेको हो ।

साथै दाङमा रहेको उक्त मन्त्रालयलाई प्रदेश राजधानी व्यवस्थापनको कार्य जिम्मेवारी तोकको छ । मन्त्रालयलाई राजधानी व्यवस्थापनको कार्यालय, अभिलेख, सम्पती, दायित्व, जनशक्ति सहित हस्तान्तरण गर्ने समेत निर्णय भएको प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

प्रदेशमा यसअघि मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम रहेकोमा त्यसको सट्टा मुख्यमन्त्री शैक्षिक विकास कार्यक्रम लागू गर्ने पनि लुम्बिनी सरकारले निर्णय गरेको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीको जनसम्पर्क सल्लाहकारमा रोल्पाका रमेशकुमार वली क्षेत्री नियुक्त भएका छन् । यस्तै, लुम्बिनी सरकारले ५७ जनालाई प्रदेश पदकबाट विभूषित गर्ने भएको छ ।

संविधान दिवसको दिन यही असोज ३ गते पदक पाउनेहरुको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २ गते शनिबार