नेपालमा आयसरको पहिलो रेकर्डः एकैदिन १५ ट्रयाक्टर बिक्री



ईश्वरी पौडेल । कोहलपुर ।

भारतीय भेइकल उत्पादन कम्पनी आयसरले नेपालमा पहिलोपटक आफ्नो ट्रयाक्टरको बिक्री संख्या धेरै गरेको छ ।

विश्वकर्मा पूजाको अवसरमा कृषि पेशाका लागि बनाइएको ट्रयाक्टरको बिक्री गरिएको थियो । अन्य कम्पनीका उत्पादनभन्दा सस्तो, सहज र दिगो उत्पादनका रुपमा परिचित आयसरको ट्रयाक्टर शुक्रबार नेपालमा एकैदिन १५ वटा बिक्री भएको हो ।

सुदूरपश्चिम हुँदै विस्तारै लुम्बिनीका जिल्लामा शोरुम विस्तार गरेको आयसरले साना र ठूला साइजका गरी शुक्रबार १५ वटा बिक्री गरेको रय्यान इन्टरनेशनल एण्ड अटोमोटिम्सका प्रोपाइटर रसुल अन्सारीले जानकारी दिए ।

शुक्रबार बर्दियाको गुलरियामा अन्सारीले शोरुम उद्घाटन गर्दै कृषिका लागि प्रयोग हुने ट्रयाक्टरको बिक्री पनि सुरु गरेका हुन् । बर्दिया र बाँकेको नेपालगन्जका १५ किसानले आयसरको ट्रयाक्टर कृषिका लागि खरिद गरेका हुन् । एकैदिन यति परिमाणमा बिक्री हुनु सायद पहिलो नै भएको अन्सारीको भनाइ रहेको छ ।

आयसरका रिजनल म्यानेजर अयाज अहमद शेखले कृषि कर्मका लागि आयसरको भइकल प्रभावकारी भएको दावी गरे । भारतमा किसानबीच निकै लोकप्रिय रहेको आयसरको उत्पादन नेपालमा पनि कृषिबीच लोकप्रिय बन्दै गएको बताए ।

शुक्रबार कम्पनीले नेपालमा दुईवटा उत्पादन लन्च गरेको छ । १८ हर्स पावरको सानो ट्रयाक्टर र ७५ हर्स पावरको ठूलो ट्रयाक्टरको बिक्री सुरु भएको हो । सानो ट्रयाक्टर साना किसान तथा राइस मिलका लागि उपयुक्त मानिन्छ ।

‘फोर ह्वील’को सानो ट्रयाक्टर किसानका लागि निकै सहज र उपयुक्त पनि छ । जसको मूल्य हाल नेपालमा ६ लाख ७५ हजार रुपैयाँ रहेको छ । ‘सानो ट्रयाक्टर खेत जोत्न, कृषि सामग्री ओसार पसार र विशेषगरी फार्मभित्रको कामका लागि प्रभावकारी छ ।

त्यसैले पनि साना किसानको रोजाइमा पनि यही उत्पादन परेको छ’, रिजनल म्यानेजर शेखले बताए । यस्तै, ठूलो ‘टू ह्वील ट्रयाक्टरको मूल्य भने हाल नेपालमा २६ लाख रुपैयाँसम्म छ । यसमा पनि नगद प्रदान गर्ने खरिदकर्ताका लागि एडभान्स रकमको परिमाण हेरेर छुटको अफर रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २ गते शनिबार