कोहलपुर नगरपालिकामा स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले कुटे कर्मचारी



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा औषधी खरिदको विषयलाई लिएर स्वास्थ्य शाखाका कर्मचारीहरुबीच नै विवाद भएको छ । कर्मचारीबीच विवाद बढ्दै गएपछि शुक्रवार स्वास्थ्य शाखाका एक कर्मचारीमाथी हातपात समेत भएको हो ।

नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले कार्यकक्षमा नै सिनियर स्वास्थ्य अधिकृत गेहराज खनालमाथि हातपात गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) को लागि आवश्यक औषधि खरिद गर्ने विषयमा विवाद हुँदा खनाल स्वास्थ्य प्रमुख ठकुरीबाट कुटिएका हुन् ।

कोहलपुर नगरपालिकामा रहेको स्वास्थ्य शाखामा शुक्रवार विहान पौने ११ बजेको समयमा औषधि खरिदको विषयमा विवाद भएपछि कुटपिट भएको थियो । औषधि खरिद गर्ने विषयमा उठाईएको टिप्पणीमा खरिद गर्ने औषधिको लिष्ट माग्दा शाखा प्रमुख सेनले मुक्काले अनुहारमा र लात्तिले शरिरमा प्रहार गरेको मिसन टुडेलाई जानकारी दिए ।

‘बिहीबार दिउँसो साढे चार बजेतिर नै कोभिड–१९ को उपचारको लागि औषधि खरिद गर्ने विषयमा टिप्पणी उठाईएको थियो’ उनले भने, ‘टिप्पणीमा सहि गर्न लगाईयो मैले खरिद गर्ने औषधिको लिस्ट खोई भन्दा भोली शुक्रबार विहान कार्यालय समयमा हेर्नुहोला अहिलेलाई सहि गरी प्रकृया अघि बढाउ भनेपछि मैले होला त भनेर सहि गरे तर, शुक्रबार बिहान खरिद गर्ने औषधिको लिष्ट खोई भन्दा म माथि शाखा प्रमुखले नै कुटपिट गर्नुभयो ।’

शाखा प्रमुख सेनसँग औषधिको लिस्ट नहेरी टिप्पणीमा भएको आफ्नो हस्ताक्षर औषधिको लिस्ट नदेखाएसम्म टिप्पणीको आफ्नो हस्ताक्षर आफैले काट्छुु भन्दै माग्दा सेनको हातमा रहेको टिप्पणीको कागज च्यातिएको भन्दै आफुमाथि मुक्का र लात्ति बर्षाएको उनले आरोप लगाए । यता आरोपित ठकुरीले भने मिसन टुडेसँग कुरा गर्न चाहेनन् ।

मिसन टुडेले दुई पटक गरेको फोन सम्पर्कमा आफु बिजी भएको भन्दै पछि कल गर्ने भन्दै फोन राखेका थिए । पीडित खनालले शुक्रबार नै आफुमाथि कार्यकक्षमा नै भएको हातपातको विषयलाई लिएर कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसीलाई उजुरी दिएका छन् ।

सो घटनाको विषयमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत टोपेन्द्र केसीले मेयर लगायत आफुहरु जिल्ला सभामा रहेको कारणले सोमबार मात्र यस विषयमा छलफल गरी दोषिलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।

स्वास्थ्य प्रमुख सेनमाथी कोरोनाको दोस्रो भेरिएन्टको कोरोना महामारीको बेलामा कोहलपुर नगरपालिकाको वडा नं. ५ को स्वास्थ्य संस्थामा खटिएका एक एचएलाई पनि कार्यालय समयमै गएर सोही वडाको कार्यालय परिसरमा लखेटेर कुटपिटको प्रयास गरेका
थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २ गते शनिबार