दाङको राजपुर गाउँपालिका वडा नम्बर– ५ सालभौरी निवासी ध्रुव वली कुखुरा पालनमा व्यवसायमा व्यस्त छन् ।
तर, उनी पेसाले शिक्षक हुन् । कोभिड–१९ को महामारीपछि विद्यालय बन्द भए । कामविहीन बनेका वलीले त्यतिबेला कुखुरा पालन व्यवसाय सुरु गरेका हुन् । ‘कोभिड–१९ का कारण तत्काल विद्यालय खुल्ने अवस्था थिएन ।
फुर्सदको समय कृषि पेसामा लागेको हुँ’ उनले भने, ‘कुखुरा पालन व्यवसायले फुर्सदको समय सदुपयोग मात्रै गरेन । आर्यआर्जन समेत बढाइरहेको छ ।’ उनले लकडाउनको समयमा दुई लाख लगानीबाट व्यवसायिक रुपमा लोकल कुखुरा पालन व्यवसाय सुरु गरेका थिए ।
अहिले उनको खोरमा छ सय कुखुरा बिक्रि गर्ने तयारीमा छन् । चाडपर्व नजिकै गर्दा स्थानीय बजार क्षेत्रबाट लोकल कुखुरा खरिद् गर्न व्यापारी घरमै आउने गरेको उनी बताउँछन् ।
छोटो समय र थोरै लगानीले पनि सञ्चालन गर्न सकिने र छिटो उत्पादन गर्न मिल्ने हुनाले कृषि पेसा अहिले आफ्नो रोजाइमा परेको उनको भनाइ छ । लोकल कुखुरा पालन गर्नु भन्दा अगाडि वलीले राजपुरको नमुना साधारण माध्यमिक विद्यालय सालभौरी गगंदीमा अध्यापन गराउँदै आएका थिए ।
‘कोभिड–१९ को जोखिमले गर्दा भारतसँग जोडिएको सम्पूर्ण नाका बन्द भयो । उताबाट आउने सबै बस्तु रोकिए हुँदा नेपालमा मासुको मुल्य एकाएक बढी हुन पुग्यो । अनि मैले सोचेें स्कूल सञ्चालन नहुँदासम्म यही पेसा नै मेरो लागि उपयुक्त छ’ उनी सुनाउँछन् । कुखुरा पालन व्यवसायमा घरबाट पनि वलीलाई राम्रो सहयोग पुगेको छ ।
उनको परिवारकै सदस्यले पूर्णरुपमा समय दिइरहेका छन् । घरपरिवार मिलेर काम गर्दा भोलि स्कूल खुल्दा आफूलाई सजिलो होस् भनेर यस्तो गरेको वलीले बताए । उनले आफ्नै चारकठ्ठा जग्गामा लोकल जातको कुखुरा पालन गरिरहेका छन् । वली शिक्षण पेशामा आवद्ध हुनुभन्दा अगाडि बैदेशिक रोजगारको लागि युएईमा चारवर्ष बिताएका थिए ।










प्रतिक्रिया दिनुहोस्