पक्की नाली बनेसँगै सुरक्षित बन्यो एकतानगर



डिल्ली शाही ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित एकतानगर बस्ती जोगाउन पक्की नाली निर्माण गरिएको छ । वर्षेनी वर्षायाममा बाढीका कारण डुवान र कटानको उच्च जोखिममा रहेको एकतानगर बस्ती बचाउन स्थानीय सरकारले पक्की नाली निर्माण गरिएको हो । विशेषगरी विपद्को समयमा आउने बाढीले खेतीयोग्य जमिन कटान गर्दै आएको थियो ।

बाढी व्यवस्थापन गर्ने व्यवस्थित नाली नहुदाँ एकतानगर क्षेत्रका २ सय बढी घरधुरी उच्च जोखिममा थिए । कटान रोक्न र बस्ती जोगाउन नगरपालिकाले १२० मिटर पक्की नाली निर्माण गरिएको हो । पक्की नाली निर्माण समितिका अध्यक्ष रोशन रावत नगरपालिका र स्थानीय बासिन्दाको श्रमदानमा पक्की नाली निर्माण बताउँछन् । उनले वर्षाको समयमा जोखिम नहुनेगरी गुणस्तरीय र प्रभावकारी काम गरेको
बताए । अहिले डुडुवा खोलादेखि १ सय २० मिटर मात्र नाली निर्माण भएको उनले जानकारी दिए ।

‘डुडुवा नालाबाट हुने जोखिम न्युनिकरणका लागि एकतानगर हुँदै बागेश्वरी बहुमुखी क्याम्पस, सिमलको विरुवा हुँदै डुडुवा खोलासम्म पक्की नाली निर्माण गर्नुपर्ने उनको भनाइ छ । ‘तत्काल जोखिम न्युनिकरणका लागि केही क्षेत्रमा नाली निर्माण भएको छ । यो अल्पकालीन व्यवस्थापन मात्रै हो ।’ निर्माण समितिका अध्यक्ष रावत भन्छन्,‘दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाले ध्यान दिनुपर्छ ।

नगरपालिकालाई स्थानीयबासी सहयोग गर्न तयार छन् ।’ उक्त नाली कोहलपुर नगरपालिकाको ५३ लाख १२ हजार र जनश्रमदानबाट बनेको हो । एकता नगरमा २०६७ सालदेखि बस्दै आएका स्थानीय विर बहादुर रोकायले नाली निर्माण भएपनि घर कटानको समस्या टरेको बताए । डुडुवा खोलामा आएको बाढीले २०७२ सालमा घरमा क्षति भएको समेत उनले बताए । पक्की नाली बन्दा आफू निकै खुसी भएको उनकोे भनाइ छ ।

अर्का स्थानीय हरिकला गिरीले वर्षेनी आउने बाढीका कारणले खेतीयोग्य जमिन बगाउने समस्या समाधान हुने आशा व्यक्त गरिन् । २०७२ सालमा आएको बाढीका कारणले १ कठ्ठा खेतीयोग्य जमिनमा बगाएको गिरी बताउँछिन् । यता कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावत एकतानगरबाट बाढीका कारण बस्ती नै जोखिममा परेको गुनासो आएपछि नाली निर्माण गरिएको बताए ।

‘उपभोक्ता समितिमार्फत काम भएको हो । एक महिना मै काम पुरा भएको छ ।’ उनले भने, ‘ त्यहाँ अझै १ सय मिटर नाली निर्माण गर्नुपर्नेछ । चालू आ.व.मै नगरपालिकाले निर्माण गर्नेछ ।’ यस्तै कोहलपुर नगरपालिका इन्जिनियर बालकृष्ण महतारा क्षेत्रीका अनुसार २.५ मिटर चौडाई, १.५ मिटर उचाई, ९० साइजका ९ वटा होमपाइप र रिटेनिङ्ग वाल राखिएको बताउँछन् ।

प्रकाशित मिति : २०७८ भदौ २८ गते सोमबार