नेपालगञ्ज ।
बाँके नेपालगञ्जको अति व्यस्त स्थान सदरलाईनको ट्राफिक व्यवस्थापनमा कडाई गर्न थालिएको छ । दिउँसोको समयमा ट्राफिक प्रहरीले त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्म सवारी सञ्चालनमा कडाई गर्न थालेको हो । दिउँसोको समयमा यो एरियामा ट्राफिक जामको समस्या देखिएकाले सोही अनुसार ट्राफिक व्यवस्थापन थालिएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।
‘सदरलाईन क्षेत्रमा सडक साँघुरो र सवारीको चाप धेरै हुने भएकाले दिउँसोको समयमा जामको समस्या देखियो’ उनले भने, ‘सवारीको जाम हटाउनको लागि आइतवारदेखि नै हामीले नयाँ योजना लागू गरिसकेका छौं ।’
नयाँ योजना अनुसार त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्म दिउँसोको समयमा तीन र चार पांग्रे सवारी साधन आवतजावतमा रोक लगार्ईएको छ । यो सडक खण्डमा विहान ८ बजेदेखि राती ८ बजेसम्म तीन र चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।
‘पहिलो चरणमा ट्राफिक व्यवस्थापनको लागि हामीले तीन र चार पांग्रे सवारी सञ्चालनमा १२ घण्टा रोक लगाएका छौं,’ उनले भने, ‘दुई पांग्रे सवारी सञ्चालन हुँदा ट्राफिक व्यवस्थापनमा सहज हुन्छ ।’
यो सडक खण्डमा साँघुरो सडक र भिडभाड बढी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि सवारी साधन सञ्चालनमा कडाई गर्नुपरेको उनले बताए । अब यो क्षेत्रमा धेरै भिडभाड गर्ने तीन पांग्रे अटो रिक्सा, जिप कार लगायतका चार पांग्रे सवारी साधन दिउँसो सञ्चालनमा आउन पाउने छैनन् ।









प्रतिक्रिया दिनुहोस्