कोहलपुर,
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सञ्चालित तीन मेडिकल सिल गरिएको छ । बजार अनुगमनको क्रममा अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्री वितरण गरिरहेका तीन मेडिकल सिल गरिएको हो । कोहलपुर–११ का मुख्य बजार र मेडिकल कलेज क्षेत्रमा सञ्चालित तीन मेडिकल हल सिल गरिएको संयुक्त बजार अनुगमन टोलीका सदस्य कोहलपुर नगरपालिकाका अधिकृत वीरबहादुर विकले जानकारी दिए ।
उनका अनुसार कोहलपुर क्षेत्रमा सञ्चालित मेडिकलहरु अनधिृकत रुपमा सञ्चालन भइरहेको, सेवाग्राहीको स्वास्थ्यममा गम्भीर खेलवाड गरिरहेको गुनासापछि अनुगमन गरिएको थियो । आइतबार अनुगमन गरिएका नेपालगञ्ज मेडिकल कलेजको उत्तर गेट क्षेत्रमा सञ्चालित राकेश फार्मेसी,के.सी. फार्मेसी र कोहलपुर–११ न्यूरोडस्थित जीवन ज्योति मेडिकल हललाई सिल गरिएको हो ।
अनुगमनको क्रममा मेडिकल सञ्चालनको मापदण्ड विपरित सञ्चालन गरिएका, अनधिृकत व्यक्तिबाट औषधि बिक्री गरिरहेका र टोली देख्न वित्तिकै भाग्ने प्रयास गर्ने व्यक्तिका मेडिकल सिल गरिएको अनुगमन टोलीमा सम्मिलित जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए । उनले कोहलपुर क्षेत्रमा सञ्चालित मेडिकलहरुका विषयमा व्यापक जनगुनासो र उजुरीपछि अनुगमन गरिएको र अनुगमनका क्रममा धेरै त्रुटी देखिएको उनको भनाइ छ । सिल गरिएका मध्ये राकेश फार्मेसीले बिरामीले फिर्ता गरेका
औषधिहरु मध्ये बिरामीले फिर्ता गरेका औषधिहरु अनावश्यक र औषधि मान्यता प्राप्त डाक्टरबिना अन्य व्यक्तिले नै बिक्रीवितरण गरेको पाइएको थियो ।
यस्तै के.सी.फार्मेसीमा अनुगमनको क्रममा मेडिकल हल सञ्चालनको मान्यता पाएका व्यक्ति नभेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका खरिदार सुरेश राज पौडेलले जानकारी दिए । ‘उक्त मेडिकलमा मान्यता प्राप्त व्यवसायी थिएनन् । तर सेवा प्रवाह भइरहेको थियो । पौडेलले भने,‘ औषधि वितरण गर्न अनुमति नपाएका व्यक्तिले सञ्चालन गरिरहेका थिए । अनुगगमन टोली आउँदा उनीहरुले भाग्नेसमेत कोशिस गरे ।’
यसैगरी जीवन ज्योति मेडिकलले समेत अनुगमन टोली गएका बखत सम्बन्धित व्यवसायी अनुपस्थित रहेको, अन्य व्यक्तिले औषधि वितरणदेखि स्वास्थ्य जाँच गर्ने समेत गैरकानुनी काम गरेको पाइएका कारण सिल गरिएको शर्माले जानकारी दिनु भएको छ । त्यहाँ एच.ए. अध्ययन गरेका व्यक्तिले मान्यता प्राप्त डाक्टर झैं काम गरिरहेको पाइएको थियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, बाँके औषधि व्यवस्था विभाग र कोहलपुर नगरपालिकाका बजार अनुगमन समितिका संयोजक लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्