कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर ८ झरकट्टीमा रहेको एक युवा क्लबको भवन उद्घाटन गरिएको छ । वडा नम्बर ८ को आर्थिक सहयोगमा निर्माण भएको विन्ध्यावासिनी युवा क्लबको भवन वडा अध्यक्ष रेशमबहादुर खत्रीले उद्घाटन गरेका थिए । वडाध्यक्ष खत्रीले समाजमा हुने विकृति विसंगती न्यूनीकरण गर्नको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
वडा नम्बर ८ मा विकासका दृष्टिले सबैभन्दा पछि क्षेत्रको विकास,समाज सुधार र युवाहरुको एकतालाई बलियो बनाउन आवश्यक रहेको अध्यक्ष खत्रीको भनाइ थियो । यस्तै कोहलपुर नगरपालिका नगरकार्यपालिका सदस्य भिमबहादुर नेपालीले कोहलपुर नगरपालिकाले युवा शसक्तिकरणलाई जोड दिएको बताए ।
उक्त भवन निर्माणका लागि कोहलपुर नगरपालिका वडा नम्बर ८ ले ४ लाख ८५ हजार आर्थिक सहयोग गरेको थियो । भवन निर्माणको लागि कुल बजेट मध्ये ४ लाख ५ हजार रुपैयाँ खर्च भएको क्लबले जनाएको छ । यस्तै खेलकुद सामग्री तथा फर्निचर खरिद्का लागि १ लाख रुपैयाँ प्राप्त भएको क्लबका अध्यक्ष राजेन्द्र टमाटाले बताए ।
एक कोठे भवन निर्माणको लागि कुल लागत ५ लाख ८५ हजार रहेको उनले जानकारी दिए । अध्यक्ष टमाटाले युवा क्लबले समाज सुधारका लागि युवाहरुलाई एकजुट गर्ने, विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने लगायतका काम गरिरहेको बताए । उक्त अवसरमा भवन उद्घाटनसँगै तीज विशेष कार्यक्रम अन्तर्गत नृत्य प्रस्तुत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्