बाँकेमा नेकपा एसलाई धक्का



नेपालगञ्ज ।

बाँकेका स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित १२ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी (एस) रोजेका छन् । एक वडा अध्यक्षसहित १२ जना जनप्रतिनिधिहरुले एमाले छाड्दै नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेमा गएर उनीहरुले नेकपा एमाले छोडेर नेकपा एस रोजेको भन्दै सनाखत गरेका थिए । विभिन्न स्थानीय तहमा निर्वाचित १२ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा एस रोज्दै सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए ।

निर्वाचन आयोगले एमालेबाट निर्वाचित भएका स्थानीय तह र प्रदेशका जनप्रतिनिधिहरुलाई पार्टी रोजेर सनाखत गर्नको लागि मंगलवार साँझ ५ बजेसम्मको समय दिएको थियो ।

‘बाँकेका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले मंगलबार साँझ ५ बजेसम्म १२ जनाले सनाखत गर्नु भएको छ’ उनले भने । बाँकेमा रहेका आठ वटा स्थानीय तहमा एक सय ७३ जना जनप्रतिनिधिले एमालेबाट चुनाव जितेका थिए । एमाले फुटेर नेकपा एस बनेपछि जिल्लामा १२ जना स्थानीय तहका जनप्रतिनिधिहरु मात्र नयाँ पार्टीमा लागेका हुन् ।

बाँकेका आठ वटा पालिकामध्ये नेकपा एमालेले तीन वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा कोहलपुर नगरपालिकामा मेयर जितेको छ । उनीहरु सबैजना नेकपा एमालेमा नै रहेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी दिए ।

जिल्लामा एमालेका नेता तथा कार्यकर्ताहरु एक ढिक्का नै रहेको उनी बताउँछन् । ‘स्थानीय तहका एक सय ७३ जनामध्ये केही साथीले बाटो बिराएका छन्, बाटो बिराउनेको संख्या थोरै छ,’ अध्यक्ष ढकालले भने, ‘यसले पार्टीमा ठूलो फरक पार्दैन ।’

नेकपा एस रोज्नेहरुमा बैजनाथ गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष कालीबहादुर सिंह, कोहलपुर नगरपालिका–१२ वडा सदस्य तथा कार्यपालिका सदस्य नारायणी वली, जानकी गाउँपालिका कार्यपालिका सदस्य राजकुमार धोबी रहेका छन् ।

यसैगरी खजुरा गाउँपालिका वडा नं. १ का वडा सदस्यहरु देवप्रसाद बुढा, रामबहादुर शाही, वडा नं. २ का नन्दलाल गुर्ताल, वडा नं. ६ का वडा सदस्य हजुरा बम, जानकी–२ का टिकाराम सुनार, कोहलपुर ५ का शंकर खड्का, वडा नं. ६ का फागु थारु, वडा नं.११ हरीकला सुनार र नेपालगञ्ज–१ का वडा सदस्य डम्बर थापा रहेको नेकपा एसका नेता अशोक कोईरालाले जानकारी बताए ।

खजुरा–२ का नन्दलाल गुर्तालले निर्वाचन कार्यालय पुगेर सनाखत गरिसकेपछि आफुले गरेको सनाखत फिर्ता माग्दै निवेदन दिएका छन् । उनले दिएको निवेदन जस्ताको त्यस्तै निर्वाचन आयोग पठाउने र त्यो निबेदन उपर आयोगबाटै कारवाही हुने निर्वाचन कार्यालय बाँकेले जनाएको छ । बाँकेमा संघका एकजना र प्रदेशका तीन जना सांसद एमालेमै रहेका छन् ।

यता नेकपा एस बाँकेका नेता कोइरालाले अरु केही साथीहरु आउने तयारी गरेपनि रातारात परिवर्तन भएको दावी गरेका छन् । कोइराला एमालेका निर्वाचित जिल्ला अध्यक्ष थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २३ गते बुधबार