कर्णालीका कृषि मन्त्रीको यौन भिडियो काण्डः निर्लज्ज सरकार, अटेरी मन्त्री



कोहलपुर ।

यतिबेला कर्णाली प्रदेश सरकार चर्चाको शिखरमा छ । यौन क्रियाकलाप गरेको आरोप लागेका मन्त्रीलाई बर्खास्त गरी कारबाही गर्नुको साटो उल्टै आरोप लगाउँदैमा कहाँ हटाउन मिल्छ भन्दै सरकारका तर्फबाट आएको आधिकारिक धारणाले झनै शंका उत्पन्न गर्दछ कि सरकारको जिम्मेवारीताप्रति ।

खुलेयाम अभियोग लागेका कृषि मन्त्री कुर्म शाहीले महिलासँगको यौन क्रियाकलापको सुरुमा देखिने मान्छे आफू नै हो भन्ने स्वीकार गरिसकेका छन् । तर, सरकार भने आधिकारिकता खोजिरहेको छ । सत्ता टिकाउनका लागि गरेको फ्लोर क्रसको गुण तिर्न कर्णाली सरकार यतिसम्म तल गिर्न कसरी सक्छ भनेर आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममासमेत यो घटनाले चर्चा पाउँदासम्म कर्णाली प्रदेश सरकार भने उजुरी कुरिरहेको छ । हुन त मुख्यमन्त्री महेन्द्र बहादुर शाही पनि संकटका बेला आफूमाथि लगाएको गुनको बदला यसरी बर्खास्त पारेर तिर्न चाहँदैनन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) सकभर मन्त्रीले नैतिकता आफैं देखाउन् भन्ने चाहान्छ । तर, मन्त्री शाहीको अभिव्यक्ति र हठीपन देख्दा भने उनमा त्यो नैतिकता नदिने प्रतिपक्षीको गुनासो छ ।

भिडियोबारे समाचार आएपछि मन्त्री शाहीले आफूले महिलालाई चिन्दै नचिन्ने दावी गरेका थिए । तर, पछि भिडियो नै सार्वजनिक भएपछि भने उनले सुरुमा देखिने आफू नै भएको र बाँकी कुरा इडिट गरिएको बताउन थाले । उक्त यौन क्रियाकलापमा संलग्न पुरुष मन्त्री शाही नै हुन् भन्ने पुष्टि त कसरी हुन्छ भने, उनी आफैंले दुई वर्ष अघिको भिडियो सार्वजनिक गरिएको बताए ।

अर्को रोचक कुरा त के हो भने बार्गेनिङका लागि भिडियो सार्वजनिक गरियो भनिएको छ । यदि मन्त्री शाहीको गल्ती नै छैन भने किन उनीमाथि बार्गेनिङ भयो त ? यो नै गम्भीर प्रश्न छ । घटना चर्चामा आएको यतिका दिन हुँदासम्म पनि सरकार किन मौन छ भन्ने प्रश्नमा माओवादी कर्णाली प्रदेश संसदीय दलका सचेतक ठम्बरबहादुर विष्ट भने केही दिनमा यसबारे निर्णय हुने बताउँछन् । उनी भन्छन्, ‘यस विषयमा पार्टीभित्र पनि कुरा भएको छ ।

भलै षड्यन्त्र नै होला । तर, आवश्यक छानबिन नगरी यो घटना त्यतिकै टाल्न हुँदैन भन्ने आवाज पार्टीभित्र उठेको छ । मुख्यमन्त्री बाहिर हुनुहुन्छ । उहाँ आउनेबित्तिकै बसेर छलफल हुन्छ ।’ तर, प्रदेश सरकारकै प्रवक्ताले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति सुन्दा भने जस्तो सुकै प्रमाण आए पनि सरकारलाई कुनै फरक नपर्नेवाला देखिन्न् ।

अघिल्लोपटक भौतिक मन्त्रीलाई सर्वोच्चमा मुद्धा पर्दा रातारात बर्खास्त गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाही यसपाली यौन भिडियो बाहिरिँदा र मन्त्रीले आफैं विभिन्न कोणबाट स्वीकार गर्दा पनि मौन किन छन् भन्ने रहस्यमय बनेको छ ।

माओवादी स्रोतका अनुसार हाल मुख्यमन्त्री कुनै हालतमा माधव नेपालको पार्टीलाई जिस्क्याउन चाहँदैनन् । नेपालकै सहयोगमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रको सरकार ढाल्नेदेखि एमाले पार्टी फुटाउने र प्रदेश सरकार जोगाउने काम गरेका छन् । अहिले माओवादी कुनै हालतमा माधव नेपाल पक्षलाई चिढ्याइहाल्न चाहँदैन ।

संविधान अनुसार अबको डेढ वर्षमा त चुनाव पनि हुँदैछ । यही तालमेल रहेमा माधव नेपाल र माओवादी केन्द्रबीच सहकार्य हुनेछ । हुन त सर्वोच्चको आदेशपछि सांसद पदमुक्त भएका कुर्मराज शाही अब एक महिनाको मात्रै मन्त्री हुन् । तर, त्यसअगावै बर्खास्त गरेर मुख्यमन्त्री शाही आफ्नो सत्ता जोगाउँदा गुन बिर्सने मुडमा छैनन् । यद्यपि उनले भने मन्त्री शाहीले आफैं राजीनामा दिउन भनेर पर्खिएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

कृषिमन्त्री र मुख्यमन्त्री शाहीको जिल्ला एउटै हो । अहिले मन्त्री शाहीलाई बर्खास्त पारेर आगामी चुनावमा माधव नेपाल पक्षसँग कालिकोटमा सहकार्यमा धक्का पुग्ने र आफू सकिने पो हो कि भन्ने त्रास मुख्यमन्त्रीमा छ । अर्कोपाटो कृषि मन्त्रीले स्वकीय सचिवमाथि लगाएका आरोप पनि कमका भने छैनन् । यदि उक्त आरोपमाथि अनुसन्धान हुने हो भने मन्त्री शाही यौन दुष्कर्ममा मात्रै होइन, आर्थिक अनियमिततामा पनि फस्ने निश्चित छ ।

साथै त्यसमा जोडिएका अन्य नेताहरु पनि । त्यसैले पनि कर्णाली सरकार यसलाई जति उचाले पनि एक महिनाजति कानमा तेल हालेरै बस्ने मुडमा छ । तर, पार्टीभित्र भने यसमा सरकारले केही गर्नुपर्ने आवाज भने पक्कै उठेको छ । अहिले मौन बस्दा पछि पार्टीलाई घाटा हुने र सरकारको नैतिकता नै संकटमा परेकाले तत्काल कुनै निर्णय लिनुपर्ने माओवादीभित्र आवाज उठेको छ ।

यता मन्त्री शाहीले भिडियोको सबै योजना प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलको योजनामा भएको पनि बताउँछन् । उनले पहिले त स्वकीय सचिवलाई बार्गेनिङको आरोप लगाए । अहिले सबैतिर भिडियोबारे प्रश्न उठेपछि कँडेलतिर आरोप फ्याँकेका छन् ।

उनका तत्कालीन स्वीकीय सचिवलाई यसबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । यता एमाले प्रदेश संसदीय दलका नेता कँडेल भने सरकारले निर्लज्जताको हद पार गरेको बताउँछन् । ‘त्यस भिडियोमाथि त के टिप्पणी गर्नु र ? सबैले देख्नुभएकै छ ।

जति प्रष्टीकरण दिए पनि आफैं स्वीकार गरेको अवस्था छ,’ उनी भन्छन्, ‘मेरो योजनामा भएको भन्ने जुन आरोप छ । त्यसलाई कसरी जवाफ दिनु र ? त्यतिसम्म निर्लज्ज काम गर्न हाम्रो हैसियतले भने दिँदैन ।’ कसैले फसाएको या षड्यन्त्र गरेको भए पनि सार्वजनिक पदमा बसेको व्यक्तिले यस्ता आरोप आएपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने नेता कँडेलको भनाइ छ ।

‘भिडियोमा देखिएको आफैं हुँ भनेर स्वीकार गर्ने ? अनि उल्टै अरुलाई पुष्टिको चुनौती पनि दिने ? यो कहाँसम्मको निर्लज्जता हो । अचम्म त यसमा छु कि यत्रो आरोप खेपिरहेका मन्त्रीलाई बर्खास्त गरी अनुसन्धान गर्नुपर्नेमा मुख्यमन्त्री आफैं मौन हुनुहुन्छ । यसबाट जनताप्रति के सन्देश दिन खोज्नुभएको हो कुन्नि ?’

तत्कालीन अवस्थामा सभामुख कृष्णबहादुर महरा र सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि आरोप लाग्दा राजीनामा र कारबाहीको माग गर्दै काँग्रेस सडकमै उत्रिएको थियो । तर, अहिले सत्ता साझेदारी गरेपछि काँग्रेसको नैतिकता पनि सोही सत्ता लोभमै बिलाएको जस्तो देखिन्छ ।

अहिलेसम्म कर्णाली प्रकरणबारे प्रदेशमा काँग्रेसबाट कुनै धारणा आएको छैन । हामीले यो प्रकरणमा काँग्रेसको धारणा के हो भन्ने बुझ्न संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सम्पर्क गर्न निकै प्रयास गर्यौं । तर, उनको फोन उठेन । महेन्द्र बहादुर शाहीको सत्ता जोगाउँदा केही वर्ष काँग्रेसले सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो ।

अहिले मुख्यमन्त्रीमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा पनि छ । सरकारको नेतृत्व लिने तयारी गर्दै गर्दा आएको यस प्रकरणमा मुछिदाँ आफूलाई धक्का हुने त्रासले पनि काँग्रेस मौन बसेको प्रतिपक्षीको आरोप छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २१ गते सोमबार