सुर्खेत ।
जिल्लामा आजदेखि विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आज आइतवारदेखि सञ्चालनमा आउन लागेका हुन् । शुक्रवार बसेको कोभिड व्यवस्थापन केन्द्रको बैठकले विद्यालय सञ्चालनबारे निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
‘स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको थियो’ उनले भने, ‘विद्यालय खुलाउने सम्बन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अबस्था हेरिनेछ ।’ जिल्लाका ९ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’ मा परेका छन् । उनीहरुले भौतिक रुपमा विद्यालय खुलाउन सक्नेछन् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा रहेको कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको छ । उनका अनुसार आगामी सातादेखि सबै सामुदायिक संस्थागत विद्यालयहरु खुल्ने छन् । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार कोरोना संक्रमणको जोखिम रहेका वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण हुनेछ । त्यसका आधारमा रहेर विद्यालय खुलाइनेछ । विद्यालयहरु खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको रिजाल बताउँछन् ।
पञ्चपुरी, लेकबेसी नगरपालिका साथै सिम्ता, चिङ्गाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना संक्रमण न्यून भएकोले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिनेछ । जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले ‘स्मार्ट लकडाउन’ कार्यविधिमा ६५ अंकभार भन्दा माथि कोभिड संक्रमण भएमा ‘रेडजोन’ मा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख भएको जानकारी दिए । वीरेन्द्रनगरको अंकभार ६६ रहेको छ । यस्तै भेरीगंगा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अंकभारका लागि दिइएका सूचकहरुमा दुई हप्तामा कोभिड नयाँ संक्रमणको बृद्धि दर, मृत्यु दर, बेड क्षमता लगायत रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्