१९ वर्षीया किशोरी बनिन् सभापति



कोहलपुर ।

दैलेखमा १९ वर्षीया किशोरी सत्तारुढ नेपाली काँग्रेसको वडा समिति सभापतिमा निर्वाचित भएकी छिन् । काँग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन् । शुक्रवार भएको वडा अधिवेशनका क्रममा काँग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको थियो ।

दुल्लु नगरपालिका प्रमुख एवम् काँग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीति अनुसार नै स्वस्तिकालाई वडा सभापति बनाइएको जानकारी दिए । स्वस्तिकाका पिता एवम् काँग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण मृत्यु भएको थियो । त्यसअघि उनी नेपाल विद्यार्थी संघका पूर्वजिल्ला सभापति, नेपाल तरुण दलका जिल्ला कार्यसमितिका सभापति भइसकेका थिए । उनी एक कार्यकाल पार्टीको कोषाध्यक्ष समेत बनिसकेका थिए ।

डेंगु भएपछि उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए । भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि दिल्लीमा उपचारका क्रममा उनको निधन भएको हो । स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै नेपाली काँग्रेसको राजनीति लागेकी हुन् । उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए । काँग्रेसले पछिल्लो समय युवाहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको दैलेख काँग्रेसले जनाएको छ । उनलाई सानै उमेरमा काँग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले पनि प्रशंसा गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २० गते आइतबार