डिल्ली शाही ।
बाँकेका आठ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाउने भएका छन् । बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना संक्रमण दर कम हुँदै गएपछि विद्यालय सञ्चालन गर्न बाटो खुला गरेको थियो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले महामारीमा शिक्षाले बालबालिकाको भविष्यमा अन्योलताको विषयलाई ‘शिक्षासंग सम्बन्धित स्मार्ट लकडाउन कार्ययोजना’ ल्याई विद्यालय सञ्चालन गर्नका लागि बाटो खुलाएको हो । सोही कार्ययोजना अनुसार भौतिक रुपमा विद्यालय सञ्चालन गर्नका लागि रेड जोन, मिश्रित जोन, पहेँलो जोन, ग्रिन जोन गरी चार तहमा विभाजन गरिएको छ ।
जसमध्ये मिश्रित जोनमा कोहलपुर नगरपालिका र पहेलो जोनमा नेपालगञ्ज उपमहानगरपालिका परेका छन् । तर, अन्य ६ पालिका भने ग्रिन जोनमा छन् । ग्रिन जोन भएकाहरुले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने पाउने कार्ययोजनामा उल्लेख छ ।
मिश्रित र पहेँलो जोनमा रहेका क्षेत्रले भने तत्काल विद्यालय खोल्न पाउने छैनन् । यस्तै प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालका अनुसार ‘शिक्षासँग सम्बन्धित स्मार्ट लकडाउनको कार्ययोजना अनुसार बाँकेमा विद्यालय भौतिक रुपमा सञ्चालन हुनेछन् । ‘तत्कालका लागि दुई पालिकाहरुले भने भौतिक रुपमा सञ्चालन गर्न पाउने छैनन्,’ उनले भने, ‘अन्य ६ वटा तहले भने स्वास्थ्य अपनाउँदै भौतिक रुपमा विद्यालय खोल्न पाउनेछन् ।’
सो कार्ययोजना अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर कोहलपुर र नेपालगञ्ज उप–महानगरपालिकाले भौतिक रुपमै विद्यालय सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको भनाइ छ । यस्तै राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले लामो समयपछि विद्यार्थीलाई विद्यालयमै पढ्ने वातावरण बनाइनु राम्रो भएको प्रतिक्रिया दिए । ‘कोरोनाका कारण बालबालिकाको भविष्य नै अन्योलमा परेको थियो’, उनी भन्छन्, ‘मन्त्रालयले ढिलै भए पनि कार्ययोजना ल्याएर त्यो अन्योलताको अन्त्य गर्ने कोशिस गरेको छ । अब यसलाई कायम राख्न सबैको प्रयास आवश्यक छ । उनले गाउँपालिका स्तरमा आइतबार बैठक बसेर विद्यालय सञ्चालनबारे निर्णय हुने जानकारी दिए ।
डिसीसीएमसीमा पेश गर्नका लागि निर्णय
कार्ययोजना अनुसार मिश्रित जोनमा परे पनि कोहलपुर नगरपालिकाले भने भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
शुक्रबार कोहलपुर नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुका प्राधानाध्यापक, विव्यस अध्यक्ष, संस्थापक
अध्यक्ष, पेशागत संगठनका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरिएको हो । नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले भौतिक रुपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार डीसीसीएमसीमा कोहलपुर नगरपालिकामा रहेका सरोकारवालाहरुले भौतिक रुपमा सञ्चालन गर्ने सबैको एउटै भनाइ आएकोले सोही निर्णयलाई कार्यपालिकामा पेश गरिने बताए । पौड्यालले कार्यपालिकाको निर्णय नै डीसीसीएमसीमा पठाएपछि त्यसबाट हुने निर्णय नै आधिकारिक हुने बताए ।
बाँकेका आठवटै स्थानीय तहको तथ्यांकअनुसार ३६१ वटा सामुदायिक विद्यालय छन् । शिक्षक १७ हजार ६९ छन् भने विद्यार्थी एक लाख ६१ हजार ४३ जना छन् । यस्तै संस्थागत विद्यालय १९७ छन् । जसमा शिक्षक तथा कर्मचारी ५ हजार १०६ र विद्यार्थी ७६ हजार ६०० रहेको प्याब्सन र एनप्याब्सनको तथ्यांक छ ।










प्रतिक्रिया दिनुहोस्