जो आफ्नै दुःख लेख्न सक्दैनन्



शुभाकर विश्वकर्मा, कोहलपुर, 

गत वर्षको चैत्र पहिलो साता कुरा हो, पत्रकार कविन्द्र परियार एक पीडित परिवारलाई आर्थिक सहयोग चाहिएको विषयमा समाचार लेखिरहेका थिए। दिउँसो दुई बजेतिर बहिनी जमुना परियारको फोन आयो। समाचार लेख्न व्यस्त उनले फोन उठाएनन्।

बाँसगढीस्थित कौशिल्या अस्पताल प्रा.लि.मा कार्यरत बहिनी परियारले लगातार फोन गरिरहेपछि तेस्रोपटकमा पत्रकार परियारले फोन उठाए। ‘हेलो दाजु कहाँ हुनुहुन्छ?’ जमुना आत्तिएको स्वरमा बोलिरहेकी थिइन्। कविन्द्रले उत्तर दिए,‘म कोहलपुर अफिसमा छु। किन आत्तिएको के भयो ।’ उनले भनिन्,‘हिजो बुबाको घाँटी चेक गराएका थियौँ नि,उहाँलाई त घाँटीको क्यान्सर भएको छ रे ।’

बालाई घाँटीको क्यान्सर यो शब्द सुन्न वित्तिकै उनी यसरी झस्किए, मानौँ त्यहाँ ९ रेक्टर स्केलको भुकम्प गएको छ । आजभ

खजुरास्थित क्यान्सर अस्पतालमा मोतिलाल परियार   ।

न्दा ६ महिना अघिको क्षण सम्झिदै पत्रकार परियार भन्छन्,‘म त एकछिन्,निशब्द भए। केही सोच्नै सकिनँ,हतार समाचार सकाएर घर हिडे ।’ घरमा आराम गरिरहेका बुबा मोतिलाल परियारलाई कोहलपुरमा रहेको कौशिल्या अस्पतालमा पु¥याएको उनले बताए। चिकित्सकले उनलाई खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन सुझाए। पत्रकार परियारका अनुसार त्यहाँ पुगेपछि सम्पूर्ण चेकजाँच गरेपछि घाँटी भएको साँचो भएको र उपचारको लागि लाखौँ रुपैयाँ लाग्ने बताइयो। पहिलो चरण मै ४० हजार रुपैयाँ खर्च भएको उनले बताए।

परियारका बुवा मोतिलाललाई केही वर्षदेखि घाँटीमा समस्या देखिएको थियो। पहिलोपटक नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा परिक्षण गराउँदा सामान्य देखिएको र औष्धि खाएपछि सन्चो हुने बताएको उनी सम्झिन्छन्। लाखौँ रुपैयाँको औषधि गर्दा पनि सन्चो भएन। तर फेरि समस्या बल्झियो। गत चैत्र महिनामा घाँटीमा क्यान्सर भएको पुष्टी भयो। ५७ वर्षीय मोतिलालको अहिले खजुरामा उपचार भइरहेको छ।पछिल्लो समय बुवाको उपचारमा लागेका कविन्द्र पत्रकारिता गरेरै घरधन्दा चलाइरहेका थिए। बुवा बिरामी भएपछि राम्रोसँग काम पनि गर्न पाएका छैनन्।

आर्थिक अभावका कारण उपचारमा आफूलाई निकै समस्या भइरहेको उनले बताए। उनी भन्छन्, ‘आजसम्म कति जना पीडित व्यक्तिका समाचार लेखियो। कतिले पुनःजीवन समेत पाएका छन्। तर आज आफ्नै बाबालाई समस्या हुँदा मैले आफूलाई परेको दुःख लेख्न सकिरहेको छैन।’ ६ महिना भयो, उनलाई समाचारको होइन आर्थिकको खाँचो छ। उनका बुवा अस्पतालको बेडमा आर्थिक अभावमा छटपटाइरहेका छन्। अस्पतालको बेडमा बुवाको चीत्कार हेरेर मात्रै बस्न विवश छन्,उनी।

दर्जनौ जना बिरामी, दुःखी पीडितको समाचार लेख्ने परियार अहिले आर्थिक समस्यासँग जुँधिरहेका छन्। आफै आर्थिक समस्यासँग जुधिरहेका उनलाई उपचारको समस्या भएको विषयमा समाचार लेखिदिन फोन आउँछ। एकतिर पेसागत धर्म, अर्कातिर मानवियताको सवाल र पत्रकारप्रतिको विस्वास। उनी अहिलेपनि आफ्नो दुःख लुकाएर अरुको समाचार लेख्छन्। विगत १५ वर्षदेखि पीडितहरुका कुरा बोल्दै र लेख्दै आएका उनी अहिले आफै पीडित छन्।

यता ५७ वर्षे मोतिलाल क्यान्सरसँग भिडिरहेका छन्। घरको आर्थिक वर्षसमेत नाजुक रहेका उनको उपचारको ठूलो धनराशी खर्च हुने बताइएको छ। तर क्यान्सरको उपचार गर्न महिनामा लाखौँ रकम खर्च हुने भएकोले मोतिलालको उपचारमा समस्या भएको उनको परिवारले जनाएको छ। घाँटीको क्यान्सरबाट पीडित ५७ वर्षीय परियारको उपचारमा हाल सम्म करीब ३ लाख खर्च भैसकेको छ। शुक्रबार मात्रै छैठौँ पटक उनलाई किमोथेरापी गरिएको छ। एकपटक किमोथेरापी गर्न २० देखि २२ हजार रुपैयाँ खर्च हुन्छ।

चिकित्सकले थप उपचारका लागि काठमाडौ जानुपर्ने बताएका छन्। त्यसको लागि थप ३ लाख खर्च हुने बताइएको छ। सामान्य परिवारका परियारको उपचारमा समस्या देखिएपछि सबैलाई सक्दो सहयोग गर्न आग्रह गरिएको छ। पत्रकार परियारले बुवालाई क्यान्सर भएको थाहा पाएपछि विभिन्न व्यक्तिहरुबाट सहयोग प्राप्त भइरहेका बताएकाक छन्।

अहिलेसम्म सहयोग गर्ने बाँके जिल्लाका केही पत्रकार तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरे। यस्तै बाँकेमा सामाजिक क्षेत्रमा काम गर्दै आएको समाज सेवा संस्था नेपालले ‘घाँटीको क्यान्सर पीडित मोतिलाल बचाउ अभियान’ सुरु गरेको छ । उनलाई उपचारमा सहयोगको लागि सम्पूर्णलाई अपिल समेत गरिएको छ ।

प्रकाशित मिति : २०७८ भदौ १९ गते शनिबार