कोहलपुर, बाँकेमा बैशाखयता बन्द शैक्षिक संस्था सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइएको छ । जिल्लामा दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द अवस्थामा रहेका विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई निर्णय गर्ने अधिकार दिइएको हो । अब जिल्लाका आठ पालिकाले भौतिक रुपमै विद्यालय सञ्चालन गर्न चाहेमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर निर्णय गर्न सक्नेछन् ।
विहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना संक्रमण दर कम हुदैँ भए पनि विद्यालय सञ्चालन गर्न बाटो खुल्ला गरेको छ । यद्यपी विद्यालय खोल्न चाहेको खण्डमा स्थानीय तहहरुले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गर्नुपर्ने भएको छ ।
बैठकले गरेको विभिन्न पाँच निर्णयको पहिलो नम्बरमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्नैपर्नेमा भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालय सञ्चालनको निर्णय गर्नुपर्नेे भनिएको छ ।
यस्तै सबै प्रकारका भीडभाड, सभा जुलुस, जात्रा, महोत्सव भने रोक लगाइएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर न्युनतम सहभागितामा सांकेतिक रुपमा मात्र मनाउन पाइने निर्णय गरिएको प्रजिअ गेलालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सर्वसाधारण व्यक्ति, सार्वजनिक÷निजी संघसंस्था, व्यवसायिक फर्म लगायत सञ्चालन हुने सबै किसिमका कार्यहरु नेपाल सरकारले तोकेको मापदण्डका पुरी गरी सञ्चालन गर्न पाइने र कोभिड १९ को लक्षण देखिएका तथा सक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुले एन्टिजेन तथा पीसीआर परिक्षणका लागि सम्बन्धित स्थानीय तह र अस्पतालमा सम्पर्क गरी परिक्षण गराउने, स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउने जनाइएको छ ।
बैठका निर्णय सार्वजनिक गर्दै केन्द्रका संयोजक समेत रहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालद्धारा जारी आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणलाई निरन्तरता दिने सरकारको निर्णय अनुसार बाँकेमा पनि आजदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्म जारी रहनेगरी निषेधाज्ञा कायमै रहने जनाइएको छ । यस्तै समितिको निर्णय उल्लंघन गर्ने व्यक्तिलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश अनुसार कारबाही गरिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्