लुम्बिनीका मन्त्री चौधरी भन्छन् ‘देउखुरीमा हचुवामा मन्त्रालय सारियो’



शिवु खनाल, दाङ, १६ भदौ

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अघिल्लो सरकारले तयारी बिना नै दाङ मन्त्रालय सारेको बताएका छन् । थारु कल्याणकारिणी सभा देउखुरीले लमहीमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले लोकप्रियताको नाममा मन्त्रालय दाङ ल्याएपनि संरचना कुनै नबनेकोले काममा समस्या आएको बताएका हुन् ।

‘अघिल्लो सरकारले तयारी नगरी मन्त्रालय सारेको रहेछ, काम केहीँ पनि भएको छैन । संरचना नबनाएरै लोकप्रियता कमाउन खोजेको देखियो ।’ मन्त्री चौधरीलेभने । स्थायी राजधानी दाङ देउखुरी नै भएकाले विस्तारै सबै काम दाङबाट हुने मन्त्री चौधरीले बताए ।भौतिक संरचना निर्माण गर्ने काम भइरहेको भएपनि उक्त स्थानबाट प्राविधिक समस्याका कारण काम गर्न समस्या भएको उनको भनाइ छ ।

राजधानी फेरी उठेर बुटवल लिन थालिएको हो ? भन्ने जिज्ञासामा उनले देउखुरीमै राजधानी हुने कुरामा ढुक्क हुन आग्रह गरेका हुन् । दाङ देउखुरीमा राजधानी बनाउनको लागि आफुले पार्टीको ह्वीप उल्लंघन गरेर पक्षमा मतदान गरेको उनको भनाइ थियो । दाङमा राजधानी कायम हुने कुरामा शंका नगर्न पनि उनले आस्वासन दिएका छन् ।

मन्त्री चौधरीले देउखुरी उपत्यकालाई थारु संस्कृतिसंगै जोड्ने बताए । आदीवासी, जनजातिको कला संस्कृतिको संरक्षण गर्दै यहाँ राजधानीको लागि उपयुक्त शहर बसाल्ने योजना छ रहेको पनि उनले दाबी गरेका छन् । कार्यक्रममा देउखुरी क्षेत्रका थारु बुद्धिजीवी, समाजसेवी सहित थारु कल्याणकारीणी सभाका पदाधिकारीको सहभागिता रहेको थियो । थारु समुदायको तर्फबाट प्रदेशको मन्त्री बनेको प्रति खुसी व्यक्त गर्दै स्थानीय थारु समुदायले आदीवासी जनजाती मैत्री काम गर्न मन्त्रीलाई सुझाव दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १७ गते बिहीबार