छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ । परिमार्जन सहित बजेट आउँछ । हाम्रो प्राथमिकता खोप हो । यो सरकारले जनतामुखी काम गर्नेछ ।’
शुभाकर विश्वकर्मा, कोहलपुर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकारले परिमार्जन सहित नयाँ बजेट ल्याउने बताएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन सहित नयाँ स्वरुपमा छिट्टै ल्याइने बताएका हुन् । सोमबार नेकपा (माओवादी केन्द्र )कोहलपुरद्धारा आयोजित बधाइ तथा स्वागत कार्यक्रम बोल्दै मुख्यमन्त्री केसीले पुर्ववर्ती सरकारले ल्याएको बजेट वितरणमुखी भएको भन्दै नयाँ सरकारले जनतामुखी कार्यक्रम ल्याउने बताएका थिए ।
पोखरेल नेतृत्वको सरकारले साउन ९ गते प्रदेशसभाबाट बजेट पास गर्न नसकेपछि अध्यादेशबाट बजेट ल्याएको थियो । उनका अनुसार उक्त बजेट गैरसंवैधानिक हो । ‘नयाँ गठबन्धन सरकार आएको छ । हामीले प्रतिगमनलाई सच्याएका छौँ ।’उनले भने,‘वितरणमुखी बजेट सच्चिएर नयाँ स्वरुपमा आउँछ ।’ साउन २८ गते गठबन्धनको नेतृत्व गर्दै मुख्मन्त्री बनेपछि पहिलोपटक बाँकेमा आएका उनले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने समेत बताए ।
चार दलीय गठबन्धनमा मन्त्रीका आकांक्षी धेरैभएपछि मन्त्रालय फुटाएर मन्त्रिपरिषद्् विस्तार गर्ने प्रदेश सरकारले तयारी गरिरहेको छ । गठबन्धनलाई शसक्त बनाउन केही समय गृहकार्य गर्नुपरेको भन्दै केहीदिन मै मन्त्रिपरिषद् विस्तार गरेर जनताको सेवामा सक्रिय हुने उनको भनाइ थियो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीसहित १० मन्त्रालयबाट बढाएर १३ मन्त्रालय बनाउने निर्णय गरेको थियो ।
देशको राजनीतिक अवस्थामा बारेमा समेत कार्यकर्ता माझ आफ्ना भनाइ राख्दै उनले लोकतन्त्र र संघीयतालाई नामेट पार्ने प्रतिगामी शक्ति विरुद्ध केन्द्र र प्रदेशमा गठबन्धन जन्मेको बताएका थिए । मुख्मन्त्री केसीले नेकपा एमालेको नाम नलिइकनै व्यवस्था उल्टाउन नेतृत्व गरेको पार्टी कम्युनिष्ट नामको हरियो सर्पको संज्ञा दिए ।
वर्तमान सरकार मुख्यत ः जनताको पक्षमा केन्द्रीत हुने उनले बताए । ‘हाम्रो पहिलो प्राथमिकता खोप हो ।पहिलो मन्त्रिपरिषद्बाटै दीर्घरोगीहरुलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ दिने निर्णय भएको छ । कार्यविधि बनाएर छिट्टै कार्यान्वयनमा जान्छ ।’ मुख्यमन्त्री केसीले भने । यसैगरी पार्टीका कार्यकर्ता पोस्नको लागि ल्याइएको ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लाई नाम परिवर्तन गरेर ‘मुख्यमन्त्री शैक्षिक सुधार कायर्यक्रम’ बनाइएको जानकारी दिए ।
यो कार्यक्रमले प्रदेशको शिक्षा क्षेत्रलाई गुणस्तरीय र निःशुल्क बनाउनको लागि काम गर्ने उनले बताए । यस्तै जनताको जीवन स्तर सुधार गर्ने खालका रोजगारमुलक कार्यक्रम, विदेश पलायन रोक्न स्वरोगार बनाउने, नीतिगत भष्ट्राचार रोक्ने सरकारको प्राथमिकता रहेको बताए ।
जनतालाई अनुभूति हुनेगरी विकासको आधारशिला खडा गरिने उनको प्रतिबद्धता छ । यस्तै नेकपा माओवादी केन्द्र आगामी चुनावबाट पहिलो पार्टी बन्नको लागि तल्ला कमिटीसम्म क्रियाशिल भइसकेको बताए ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य आइपी खरेलले नेकपा माओवादी केन्द्रको पुनःजागरण शुरुवात भएको बताएका थिए । उनका अनुसार वर्तमान गठबन्धन सरकार नयाँ अवतारमा अघि बढ्छ । उक्त अवसरमा पार्टीको तर्फबाट कोहलपुर नगरपालिकाको तर्फबाट विभिन्न माग सहित मुख्यमन्त्री केसीलाई मागपत्र बुझाइएको थियो ।
प्रकाशित मिति : २०७८ भदौ १५ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्