एक कहालीलाग्दो मृत्यु !



कोहलपुर, 

शुक्रबारदेखि एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल निकै भइरहेको छ । तस्वीरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा अबोध बालकलाई देख्न सकिन्छ । उक्त तस्वीरमा रहेकी महिला हुन्,धर्माकुमारी बटाला । २८ वर्षीया बटालाको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपाल हो । उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन् ।

पछाडी महिलो फूलबुट्टे कपडा सहितको सिट । अगाडी काँधमा झुण्डाइएको चुन्नी । गलामा रातो रङको पोते । शरिरमा खेरो रङको कुर्ता । निहुरिएको छ टाउको । अंगालोमा एक अबोध बालक मलिन अनुहारमा देख्न सकिन्छ । फेसबुक प्रयोगकर्ता र समाचार हेर्दा यो मृत्युपछिको तस्बीर हो भन्ने बुझ्न सकिन्छ । अधिकांशले यसलाई कहालीलाग्दो मृत्युको रुपमा चित्रण गरिरहेका छन् ।

घरबाट नेपालगञ्जमा रहेका श्रीमान भेट्न आउँदा उनको बसभित्रै असमायिक मृत्यु भएको थियो । अहिले उनको मृत्युको स्थान,कारण र अवस्था चर्चा र सम्वेदनाको विषय बनेको छ ।

बटाला बिहीबार बेलुका साढे ५ बजे राडीबाट नेपालगञ्जका लागि हिडेकी थिइन् । उनको साथमा ३२ महिले छोरा किरण बटाला पनि सँगै थिए । सम्वेदना र श्रद्धाञ्जली सहित भाइरल बनिरहेको तस्वीरमा आमाको काखमा मलिन अनुहारमा देखिएका नाबालक किरण नै हुन् ।धर्माकुमारीले राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेकी थिइन् । मिसन टुडे दैनिकलाई प्राप्त जानकारी अनुसार छोरा सहित बस चढेकी उनले नेपालगञ्जमा रहेका श्रीमानलाई जानकारी दिइन् ।

बटाला श्रीमानसँगको सल्लाह मै उपचारको लागि नेपालगञ्ज आएकी थिइन् । मुटुरोगकी बिरामी उनले श्रीमान भेट्न पाइनन् । कारुणिक तस्बिरमा देखिएजस्तै उनी अब कहिल्यै पनि बिउझने छैनन् ।

धर्माकुमारी र छोरा बसमा चढेपछि श्रीमानसँग सम्पर्क थिए । बस छेडा भन्ने ठाउँमा आएपछि खाना खाए। त्यतिबेला सम्म उनले आफू सामान्य अवस्थामा रहेको श्रीमानलाई बताएकी थिइन् । पछि पनि बाटोमा उनीहरुबीच बेला बेला फोनमा कुराकानी भइरहयो । धर्माकुमारीले आफू सामान्य भएको बताइरहिन् । यता उनका श्रीमान भोलीपल्ट बिहान छोरा र श्रीमतीलाई स्वागत गर्ने तयारी गर्दै यात्राको शुभकामना दिएर सुते ।
यता,धर्माकुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि थिए । बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुई÷तीन पटक वान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसिन्।

त्यतिबेला सम्म मध्यरात भइसकेको थियो। बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो । बस आफ्नै सुरमा चलिरहेको थियो ।केसीले बर्दियाको हरिया लेक पुग्नै लाग्दा एक्कासी कोही रोइरहेको सुने । केसीका अनुसार किरण आमाको सिट भन्दा तल भुइँमा झरेकाले रोइरहेका थिए । अर्जुन सुनाउँछन्,‘ बच्चा भुइँमा खसेको थियो । मैले बच्चा समातेर आमालाई उठाउन खोजे । त उहाँ हलचल गर्नुभएन ।’

मध्यरातको एक दुःखान्त थाहा पाउनुभन्दा अघिको अवस्था चित्रण गर्दै धर्माकुमारी त कहिल्यै नबिउझने गरी चीर निन्द्रामा सुतिरहेको बताउँछन् ।यस्तो कारुणिक अवस्था थाहा पाएपछि बसभित्र एकाएक सान्नाटा छाएको उनले जानकारी दिए । कोही दुःखी भए । कोही निराश भए । कसैले उनलाई बबईमा उपचारको लागि लिनुपर्ने बताए । अफसोच त्यहाँ मेडिकल बन्द थियो ।पछि छिटो भन्दो छिटो कोहलपुर लिने विषयमा छलफल भएको अर्जुन बताउँछन् । तर धर्माकुमारीको भौतिक शरिर बसको सिट मौ लास बनिसकेको थियो ।

धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा उनकी गाउँकै एक महिलाले समातेर यात्रा गरिन्। रोइरहेको बच्चालाई सबैले पालैपालो समातेको उनको भनाइ छ । केसीले बिहान भएपछि उनका श्रीमान दलबहादुर बटालालाई उनको श्रीमतीको मृत्युको विषयमा जानकारी गराइएको बताए ।

शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपालगञ्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एकाबिहानै श्रीमतीलाई सदाको लागि गुमाउनु परेको खबर सुन्दा छाँगाबाट खसेझैं भए। दुःखी मन लिएर पौने ६ बजेतिर गाडी लगेर बस आउने ठाउँ कोहलपुरको दश बिगाहा पुगे। बसमा रहेकाहरुले किरणलाई दलबहादुरको जिम्मा लगाए । दशविगाहामा उनलाई चेक गराइयो ।

नर्सिङ स्टाफले ‘अब उहाँको सम्भावाना छैन,’ भन्ने वाक्य सुनाइन् । पछि धर्माकुमारीलाई गाडी दौडाउन लगाएर नेपालगञ्जस्थित भेरी अस्पतालमा पु¥याएको दलबहादुर बताउँछन् । ‘म अभागी रहेछु । पहिलो श्रीमतीले छाडेर गइन् । अहिले उनले पनि मलाई छाडिन् । दैवको लिला स्वीकार गरेर बस्नु बाहेक के रहयो र ।’ मलिन स्वरमा उनले भने, यात्राकै क्रममा धर्माकुमारीको मृत्यु पछि किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको छ।

यो तस्बिर बसमा यात्रारत कुनै यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेपछि त्यसलाई सयौं फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेका छन् । श्रीमान दलबहादुर बटाला नेपालगञ्जमा बस्न थालेको १ महिना भयो । उनी नेपालगञ्जमा बिल्डिङ सम्बन्धी ठेक्कापट्टाको काम गर्छन् । उनको धार्मिक परम्परा अनुसार अत्येष्टि गरिएको छ ।

प्रकाशित मिति : २०७८ भदौ ६ गते आइतबार