सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शहीदको सपना पूरा हुन व्यवस्था बलियो हुनुपर्ने बताएका छन् । देशको व्यवस्था परिवर्तनको लागि धेरै मानिसहरु शहिद भएको भन्दै उनीहरुको सपना पुरा गर्नको लागि व्यवस्था बलियो हुनुपर्नेमा उनले जोड दिएका हुन् ।
‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्मन्त्री शाहीले व्यवस्था स्थापनाका लागि दशकौं लामो सशस्त्र एवं निशस्त्र रुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण संघर्षहरूको पृष्ठभूमिमा कर्णाली प्रदेशवासीले आफ्नो प्रदेश प्राप्तिका लागि समेत बलिदानीपूर्ण संघर्ष गरे, अब यो व्यवस्थालाई थप बलियो बनाएको छ ।’ भनेका छन् ।
संघीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी निर्णय भएको पनि उनले स्मरण गरेका छन् । सोही निर्णयको विरोधमा कर्णालीवासीले छुट्टै प्रदेश स्थापनाको माग गर्दै दुई सातासम्म आन्दोलन गरेका थिए । त्यसक्रममा चार जनाले ज्यान गुमाउनु परेको थियो ।उक्त आन्दोलनका क्रममा टिकाराम गौतम, यामबहादुर बीसी, गोपालसिंह रजवार र हरिबहादुर कुँवरले सहादत प्राप्त गरेका थिए । २०७२ भदौ ४ गते कर्णाली प्रदेश स्थापना भएको थियो ।
मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिका लागि सहादत प्राप्त गर्ने शहीदहरुप्रति सम्मन व्यक्त गरेका छन् । कर्णाली प्रदेश सरकारले आजको दिनलाई प्रदेश स्थापना दिवस तथा शहीद दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ । त्यसका लागि शुक्रबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।कर्णालीका लागि संघीय व्यवस्था अपरिहार्य भएको तथ्य समय क्रमसँगै थप स्थापित भइरहेको छ । कर्णाली प्रदेश स्थापनाको ६ वर्ष पुरा भएको छ ।









प्रतिक्रिया दिनुहोस्