कोहलपुर ।
अझै एकसाता बढी देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी अझै एक साता देशभर मनसुन सक्रिय हुने देखिएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुने जानकारी दिए । ‘वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ’ उनले भने, ‘वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहन्छ ।’
विभागले शनिवार एक सूचना जारी गरेर देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको
छ ।
शनिवार रातीसम्म प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको थियो । आज आइतवार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए ।
बाँकेमा उच्च सर्तकता
वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै जान थालेपछि उच्च सर्तकता अपनाइएको छ । अझै एकसाता मनसुन सक्रिय हुने भएकाले जुनसुकै बेला समेत नदीमा पानीको सतह बढ्नसक्ने भएकाले सर्तकता अपनाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । राप्ती नदीमा पानीको सतह बढी भएमा नदीको तल्लो तटीय क्षेत्र डुवानमा पर्ने सम्भावना रहन्छ ।
शनिवार बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ३ दशमलव ५४ मिलिमिटर माथि उक्लेको छ । कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिलिमिटर भए चेतावनी र ५ दशमलव ४० भए खतरा मानिन्छ । राप्ती नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले राप्ती नदीआसपासका नागरिकलाई सचेत गराएको थियो । पानी पर्न नरोकिएकाले बाढी आउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले प्रभावित क्षेत्रका स्थानीयलाई सचेत गराएको हो ।
नदी तटीय क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुलाई समेत सबै सुरक्षा निकायहरुले तयारी हालतमा बस्न आग्रह गरिसकेका छन् । नदीमा आएको बाढीले कुनै क्षेत्रमा डुवान गरेमा उद्दारको लागि तालिमप्राप्त जनशक्ति तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्