कोहलपुर जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा तेस्रो लहरको कोरोना संक्रमण हुन नदिन प्रतिकार्यमा एकजुट हुन अपील गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै संभावित तेस्रो लहरको प्रतिकार्य तथा निषेधाज्ञाको समयमा निषेध गरिएका क्रियाकलाप नगर्न निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी सूचनामा केही महिनायता जिल्लामा निषेधाज्ञा खुकुलो परिएपनि कायमै रहेको उल्लेख गरिएको छ ।‘दोस्रो लहर अन्तर्गत संक्रमण दरमा कमी आएको र तत्कालीन वस्तुस्थितिको आधारमा भीडभाड जन्य गतिविधि लगायत केही सीमित सेवा तथा कार्यहरु निषेध गरिएको थियो ।
केही अत्यावश्यक सेवा तथा कार्यहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी केही खुकुलो पार्दै अहिले पनि जिल्लामा निषेधाज्ञा कायमै छ । ’ उक्त सूचनामा भनिएको छ । केहीदिन यता परिक्षणको नतिजाबाट संक्रमण दर बढिरहेको भन्दै सुरक्षित रहन कार्यालयले आग्रह गरेको छ ।
कोभिड अस्पतालमा समेत बिरामीहरुको संख्या बढ्दै गएकोले रोकथाम तथा नियन्त्रणका उपाय अपनाई संक्रमण शून्यमा झार्ने जिम्मेवारी सबै नागरिकको भएको बताइएको छ । जिल्लाभरी कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण गर्ने प्रयास निरन्तर भइरहेको बताइएको छ । कतिपय कुरामा अहिलेपनि निषेध जारी रहेकोले विभिन्न व्यक्ति तथा समूहहरुबाट भीडभाड जन्य क्रियाकलाप गर्ने, तोकिएको स्वास्थ्य मापदण्ड पुरा नगरी सार्वजनिक गतिविधिमा संलग्न नहुन पनि सम्पूर्ण बाँकेबासीलाई अपील गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्