कोहलपुर ।
जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका तीन जना प्रदेशसभा सदस्यहरुलाई कारबाही गरेको छ । जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले प्रदेशसभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई प्रदेशसभा सदस्य पदबाट कारबाही गरेको हो । जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो ।
जसपाको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरु सांसद नरहेको भनी सूचना प्रकाशन गरेको थियो । पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो । उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि फेरि ती सांसदहरुलाई कारबाही गरेको हो ।
लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गरेको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । त्यस्तै जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।









प्रतिक्रिया दिनुहोस्