नेपालको संविधान २०७२ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा व्याख्या गरिएको छ । सोही व्यवस्था अनुसार अहिले देशभर ७ सय ५३ स्थानीय सरकार सञ्चालनमा छन् । सात प्रदेश सरकार सहित एक संघीय सरकार छ । पहिलोपटक निर्वाचन मार्फत स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि आएको पनि चार वर्ष पुरा भइसकेको छ । लुम्बिनी प्रदेशको बाँके जिल्लामा आठ स्थानीय तह छन् । कोहलपुर यहाँको एकमात्र नगरपालिका हो । कोहलपुर नगरपालिकामा जम्मा १५ वटा वडा रहेका छन् । ती मध्ये एक हो वडा नम्बर २ । कर्ण सिंह बुढा क्षेत्री वडा नम्बर २ का वडा अध्यक्ष हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । कोहलपुर नगरपालिकाका विकसित वडा मध्येको एक हो वडा नम्बर २ । विकास, पहुँच र सम्भावनाका दृष्टिले कोहलपुर वडा नम्बर २ निकै अघि रहेको छ । अघिल्लो वर्षबाट वडाको आफ्नै भवनमा सेवा दिइरहेको वडा नम्बर २ विकासशिल अवस्थामा छ । ११७४६ जनसंख्या रहेको वडा नम्बर दुई १६.३८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात कोहलपुर नगरपालिका वडा नम्बर २ मा भएका विकास सेवा प्रवाह, उपलब्धि तथा देखापरेका चुनौती र बाँकी रहेको कार्यकालको योजनाका विषयमा केन्द्रित मिसन टुडे दैनिकका लागि प्रशिक्षार्थी पत्रकार प्रज्ञा अर्यालले वडाअध्यक्ष कर्ण सिंह बुढा क्षेत्रीसँग गरेको कुराकानीको सम्पादित अंश :
१. जनताको प्रतिनिधि हुनुहुन्छ, यहाँको दैनिकी कसरी बितिरहेको छ ?
हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि विषम् परिस्थितिमा जनप्रतिनिधि भएर आएका थियौँ । जब हामी निर्वाचित भएर आयौँ । हाम्रा सामु चुनौतीका पहाडहरु थिए । ती चुनौतीको सामना गर्नको लागि हामी दिनरात नभनी खटियौँ । अहिले पनि खटिरहेका छौँ ।
हामी बिहान ६ बजेदेखि बेलुका ८ बजे सम्म फिल्डमा हुन्छौँ ।जनताले विभिन्न किसिमका समस्या सुनाउँछन् । त्यहाँ जानुपर्छ ।वडामा सेवाग्राहीको घुँइचो हुने गर्दछ । सेवा दिनुपर्छ ।जग्गा,सीमा विवाद,बाटो विकास, भौतिक विकास,खानेपानी,रोजगारी,बिजुलीबत्तीका समस्या अन्त्य गर्न हामी प्रत्येक दिन लागिपरेको अवस्था छ । समग्रमा स्थानीय जनताका गुनासा,समस्या,विवाद समाधान लगायतमा जनताप्रति पूर्ण रुपमा समर्पित भएर दैनिकी बितिरहेको छ । सेवामा समयको कुनै पाउबन्दी हुदैन ।
२.तपाईंको कार्यकालको पनि चार बर्ष बितिसक्यो, विगत चार वर्षमा तपाईंको वडामा के–के राम्रा कामहरु भएका छन ?
हाम्रो कार्यकालको चार वर्ष बितिरहदाँ धेरै राम्रा कामका अभ्यास हामीले गरेका छौँ । सिंहदरबारको अधिकार गाउँगाउँमा आएका छन् । त्यसको जनताले प्रत्याभूत गरेको हामीले पाएका छौँ । अहिले हामी अन्तिम आर्थिक वर्षमा समेत छौँ । हामीले जनतालाई दैनिक दिनुपर्ने सेवाहरु निरन्तर दिइरहेको अवस्था छ । यो हाम्रो प्रमुख जिम्मेवारी पनि हो ।
हामीले २०७४ सालदेखि अहिलेसम्म यस वडामा जनतालाई अतिआवश्यक कुराको सेवा दिनुका साथै भौतिक पूर्वाधार, बिजुलीबत्ती, खानेपानी प्रदान गरेका छौ। कोभिड–१९ को महामारीको समयमा जनतालाई बचाउनको लागि अधिकतम् प्रयत्न भयो । वडा कार्यालयको स्थायी र पक्की संरचना निर्माण भएको छ । वडा नम्बर २ मा स्वास्थ्य चौकी निर्माण भएको छ । गन्धर्व बस्तीहरुका लागि स्थायी संरचना निर्माण भएको छ । हामीले २० घर निर्माण गरेका छौँ । वडा नम्बर ११ र २ को लोकनगरमा । यस्तै पाँच किलोमिटर पक्की सडक निर्माण भएको छ । ५० मिटर जति आधारभूत बाटाघाटा निर्माण भएका छन् ।
शक्तिनगर, मुक्तिनगर र विकासनगर क्षेत्रलाई जंगली जनावरबाट बचाउनको लागि हामीले अधिकतम् प्रयास गरिरहेका छौँ । रिङरोडको अवधारणा अनुसार काम भइरहेको छ । सुकुम्बासीहरुलाई जग्गा दिने प्रक्रिया शुरु भइरहेको छ ।
३. तपाई वडामा आउनुभन्दा पहिले र अहिलेको वडामा के फरक छ ?
हामी आउँदा वडा कार्यालय पनि थिएन । संरचनाहरु केही पनि थिएनन् । वडामा जथाभावी रुपमा विद्युतका पोल थिए । जताततै अव्यवस्थित क्षेत्र मात्रै थिए । हामीले निर्वाचित भएर आइसकेपछि शून्यबाट काम शुरु गरेको हो । वडामा ३ मिटरबाट मात्रै बाटोहरु थिए । हामीले प्रक्रिया अनुसार वडामा आठ मिटरको बाटो निर्माण गर्न सफल भएका छौँ । विद्यालयको अवस्था पनि निकै खस्किदो अवस्थामा थियो । हामी आएपछि आधारभूत तहदेखि लिएर माथिल्ला तहमा शैक्षिक सुधारका प्रयास समेत गरेका छौँ ।माद्यमिक विद्यालयको स्तरोन्नती गरिएको छ । आधारभूत तहको शिक्षक निःशुल्क छ । वडा नम्बर २ विद्युतमय भएको छ । यहाँ कतैपनि बत्तिको समस्या छैन । अहिलेपनि खानेपानीको लाइन बिस्तारको क्रममा रहेको छ । समग्रमा सेवामा वीरेन्द्रीकरण गरेका छौँ । टोल टोलमा आधारभूत सेवा प्रदान गर्ने व्यवस्था मिलाएका छौँ । चार भन्दा चार वर्ष अघि र अहिलेको फरक र हामीले गरेका काम यिनै हुन् ।
४. यो अवधिसम्म तपार्इंले वडाअध्यक्षका रुपमा सिकेको पाठ के हो ?
यो अवधिसम्म आइपुग्दा मैेले धेरै पाठ सिकेको छु । पहिला हामी कानुन विहीन अवस्थामा थियौ । नामको मात्रै वडा थियो । अहिले जनताले देखिने गरि विकास भएको छ । मैले सिकेको पहिलो पाठ के हो भने काम गर्ने इच्छा शक्ति भयो भने राम्रोसँग काम गर्न सकिन्छ । संघर्ष गरेमा सफलता मिल्छ भन्ने कुराको राम्रोसँग बोध भयो । अहिले आफैले गरेका काम देख्दा खुसी लाग्छ । तर अहिलेसम्म सबै जनताले सोचेको जस्तो हुन सकेको छैन । यसमा हामी अहिलेपनि दिनरात नभनेर काम गरिरहेका छौँ । हामी जनताका सेवक बन्नका लागि आएका थियौँ । जनताले हामीले सेवा गर्नको लागि पठाएका थिए । सोही अनुसार अहिले पनि काम भइरहेको छ । जनताको आवश्यकतामा आधारित भएर काम गरेमा लोकप्रियता पाइन्छ भने नराम्रो काम गरेमा जनताले दण्डित गर्छन् भन्ने कुरा मैले राम्रो सँग बुझेको छु ।अहिलेसम्मको यात्रामा अब त अन्तिम समयमा छौँ बाँकी समय निकै फलदायी बनाउने हाम्रो लक्ष्य रहेको छ । कहिले हार नमानेर वा नथाकेर निरन्तर अगाडि बढ्दा नै सफलता पाउँछ भन्ने पाठ सिके ।
५. अब एक वर्ष मात्रै बाँकी छ,यो वर्षमा कि काम गर्न योजना छ ?
चार वर्ष बितिसकेको छ । यो अवधिमा धेरै काम सम्पन्न भइसकेका छन् । यो अन्तिम वर्ष भएकोले अझै जति सकिन्छ राम्रो काम गर्ने मेरो योजना रहेको छ । सोही अनुसार अघि बढ्ने छु । बाटोको कुरा गर्नुहुन्छ । सामान्य बाटाहरु धेरै बनिसकेका छन् । अब भने रणनीतिक रोड बनाउने योजना छ । ती सडकहरुमा हामीले पीच गर्नुपर्नेछ । त्यो काम पनि गर्नेछौँ । मेरो अबको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र हो । बनिसकेका संरचनाको संरक्षण र स्तर बृद्धि गर्ने अनि नयाँ संरचना निर्माण गरेर निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्नको लागि प्रयत्न गर्ने । त्यसपछि शिक्षा क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारमा काम गर्ने योजनामा छु । मैले यसरी नै सोचेको छु । किन भने हामी स्वस्थ्य र जिवित रहनको लागि स्वास्थ्य क्षेत्रकाके विकास नभइ सुखै छैन । शिक्षा विकास हुनु भनेको हामी विकसित र शिक्षित हुनु हो । पूर्वाधारले हाम्रो जीवनयापनमा सहजता ल्याउँछ । अहिले स्थानीय तहको बजेट समेत त्यसरी नै आइरहेको छ । साथै अब दीर्घकालीन योजना,पाँच वर्षीय योजना,दश वर्षीय योजना,रणनैतिक योजना निर्माण गरेर भावी पुस्तालाई मार्गदर्शन किताबको रुपमा रुपान्तरण गरी स्थापित गरेर छोड्ने सोच बनाएका छौँ ।
६. अन्त्यमा सम्पूर्ण वडा बासीलाई के भन्न चाहनुहुन्छ ?
अन्तिममा सम्पूर्ण वडाबासीहरुलाई म के भन्न चाहन्छु भन्दा हामी तपाईंहरुको भोटका कारणले अहिले यहाँ हौ ।र अहिलेसम्म जे जति गर्न सक्यौँ । तपाईहरुले मूल्यांकन गर्नु भएको होला । जहाँसम्म लाग्छ हामीले धेरै कुरा गर्न प्रयन्त गरेको जस्तो लाग्छ । हिजो हामी आउँदा र अहिलेको वडामा पक्कै पनि धेरै परिवर्तन भएको छ । अब १ वर्ष मात्रै बाँकी छ । धेरै काम हुनेछन् । हिजो हामीले गरेको बाचाहरु कति पूरा गर्न सक्यौँ होला कति नसकेको होला गर्न नसकेको कुराहरु अझै हाम्रो बचेको कार्यकालमा पूरा गर्नेछौं तपाईंको प्रतिनिधि छ,तपाई ढुक्क हुनुहोस्। विकासको लागि साझेदार बनौँ ।









प्रतिक्रिया दिनुहोस्