शिवु खनाल । दाङ ।
डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले जंगली जनावर र मानव बीचको द्वन्द्व न्यूनिकरणको लागि सामुदायिक वनमा ८ वटा पानीको पोखरी निर्माण गरेको छ । देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । जंगलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको द्वन्द्ध न्यूनिकरण हुने डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउँछन् ।
वन जंगलको छेवैमा रहेका बस्तीमा पुगेर वन्यजन्तुले किन मानिस माथि आक्रमण गरिरहेको छ भन्ने विषयमा स्थलगत अनुगमन गर्दा पानीको मुख्य समस्या देखिएको उनले बताए । वन्यजन्तुलाई चाहिने पानी वनजंगल छेउमा नभएपछि पानीकै लागि मानव बस्ती पस्दा दुर्घटना हुने गरेको पत्ता लागेपछि पोखरी निर्माण कार्यलाई प्राथमिकता दिइएको उनले जानकारी दिए । ‘सामुदायिक वनमा पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यसवर्ष जंगलमा आगलागी भएको छैन’ प्रमुख सुबेदीले भने, ‘चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् ।
हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाँच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भयो ।’ पानीको अभावमा मानव र वन्यजन्तु द्वन्द्व बढेकाले न्यूनिकरणको लागि चालु आर्थिक वर्षमा पोखरी निर्माण गरिएको उनले बताए । कार्यालयले विनियोजन गरेको ३४ लाखको लागतमा देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा ८ वटा पोखरी निर्माण गरिएको उनले जानकारी दिए ।
जंगलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए । ‘विगतमा सामुदायिक वन क्षेत्रमा रहेका तालतलैया संरक्षणको अभावमा पुरिएर सुकेपछि पानीको अभावमा जंगली जनावरले बासस्थान सारेका थिए’ उनले भने, ‘पानीकै अभावमा जंगली जनावर देख्नु दुर्लभ हुन्थ्यो ।
सामुदायिक वन क्षेत्रमा पानीको व्यवस्था भएपछि हाल देखिन छाडेका जनावर देखिन थालेका छन् । सामुदायिक वनमा चितल, बदेल, निलगाई, मयुर र चितुवा सहजै देखिने गरेको छन् ।’ यस्तै जनावर देखिन थालेपछि अवलोकन गर्नका लागि सामुदायिक वनमा एउटा मचानसमेत निर्माण गरिएको छ । २४ फिट उचाइमा एक तले मचानसमेत निर्माण गरिएको हो । मचान निर्माण गरिएपछि सामुदायिक वनमा रहेका जनावर र सामुदायिक वनको मनोरम दृश्य नियाल्न सकिने भएको बताइएको छ । सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको डिभिजन वन कार्यालय दाङ देउखुरी प्रमुख सुबेदीले बताए ।
उनले जंगलमा पोखरी निर्माण गर्न तथा जथाभावी जंगलका रुख ढालेर डोजरे विकास नगर्न देउखुरी क्षेत्रका सबै सामुदायिक वनलाई आग्रह
गरे । यता वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जिवी खनालले देउखुरीमा हुँडार, चितुवा, स्याल, काठे भालु, निर बिरालो, चरी बाघ लगायतका वन्यजन्तुहरु पाउने गरेको जानकारी दिए । त्यती मात्र नभइ चितल, जरायो, राते, चौका, बँदेल जस्ता वन्यजन्तुका विभिन्न प्रजाती पनि देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा पाइने जानकारी दिदैँ, तुलनात्मक रुपमा उत्तर भन्दा दक्षिण तर्फको वन घना र पानीको श्रोत धेरै भेटिने गरेको अनुसन्धानकर्मी खनाल बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्