सुर्खेतमा निषेधाज्ञा खुकुलो, फेरी एकसाता थपियो निषेधाज्ञा



सुर्खेत ।

कोरोना थोकथाम तथा नियन्त्रणको लागि सुर्खेतमा जारी गरिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले केही खुकुलो पार्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेश अनुसार सुर्खेतमा असार ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको छ ।

‘कोभिड संक्रमितहरुको संख्या क्रमिक रुपमा कम हुँदै गएता पनि जिल्लामा अझै सक्रिय संक्रमित बढी रहेको र जोखिम कायमै रहेको हुँदा सर्वसाधारको समस्यालाई मध्यनजर गर्दै थप खुकुलोका साथ निषेधाज्ञा थपिएको छ’ जारी आदेशमा भनिएको छ । यो अवधिमा औषधी र औषधीजन्य पदार्थको पसल र इन्धनका पम्पहरु २४ सै घण्टा सञ्चालन हुन पाउँनेछन् ।

तरकारी फलफूल लगायत दूधजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ । खाद्यान्न पसल लगायत अत्यावश्यक सामग्रीको पसलहरु भने बिहान ९ बजे देखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । होटल रेष्टुरेन्टहरुले क्षमताको ५० प्रतिशत सहित डेलिभरी सेवा मार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था मिलाइएको छ । गोष्ठी सभा सम्मेलन तालिम तथा कुनै पनि जमघटका कार्य यस अवधिमा सञ्चालनमा गर्न पाइनेछैन ।

त्यसै गरी सम्पूर्ण निजी सवारी साधन भाडाका सवारी साधन सार्वजनिक यातायातका साधन जिल्ला भित्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ । एम्बुलेन्स, दमकल, सञ्चार, विद्युत, सरसफाइ, स्वास्थय कर्मी, अत्यावश्यक कार्यालय एंव संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने र अनुमति प्राप्त सवारी साधन लगायतका साधनहरू भने निर्वाधरुपमा सञ्चालन हुनेछन् । आदेशको उल्लघन गरी नियम विपरीत कार्य गरे गराए कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने जारी आदेशमा चेतावनी दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २६ गते शनिबार