किसानलाई अनुदानमा मिनी ट्रिलर



कोहलपुर 

बाँकेको बैजनाथ गाउँपालिकाले किसानलाई मिनी ट्रिलर सहयोग गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायिकरणका लागि किसानहरुलाई सहयोग होस् भन्ने उद्देश्यले अनुदानमा मिनी ट्रिलर सहयोग गरेको हो । गाउँपालिकाभित्र ८० जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनी ट्रिलर उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत दानवहादुर ऐडीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अनुसार कृषि कर्म गर्नको लागि सहज होस भन्नका लागि आधुनिक सामग्री सहयोग गरिएको हो । उनले गाउँपालिकाले अनुदानमा प्रदान गरेका सामग्रीबाट कृषि क्षेत्रको विकासका साथै जिविकोपार्जनमा समेत सहयोग पुग्ने बताए । ‘कृषि क्षेत्रमा आधुनिकिकरणका लागि हामी प्रयत्नशिल छौँ ।यसबाट किसानहरुको जिविकोपार्जनमा सहयोग गर्ने हाम्रो उद्देश्य हो । सोही अनुसार ठूलो संख्यामा किसानलाई वितरण गरिएको हो ।’ उनले भने ।

यता गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल ठकुरीले कृषिको आधुनिकीकरण र ब्यावसायिकरणका लागि एकसाथ धेरै किसानलाई आधुनिक उपकरण सहयोग गरिएको बताएका छन् । कृषि क्षेत्रको विकास नै किसान र गाउँपालिकाको समृद्धिको आधार भएको
उनले बताए ।
विगतका वर्षदेखि नै गाउँपालिकाले कृषि र पशु पालन क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष ठकुरीले बताएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा समेत नीति तथा कार्यक्रम र बजेटको प्रमुख प्राथमिकताका रुपमा गाउँपालिकाले कृषि क्षेत्रलाई राखेको छ ।

वडा नम्बर ५ का अध्यक्ष मनवहादुर खत्री स्थानीय सरकार आएदेखि किसानले सहज र सुलभ सेवा पाइरहेको बताउँछन् । उनले भने,‘कृषि क्षेत्रको विकासका लागि तरकारी खेती देखि व्यवसायिक खेतीलाई प्रोत्साहन गरिएको छ । यसबाट गाउँ तथा वडा स्तरमा थुप्रै रोजगारीका अवसर सिर्जना भएका छन् ।’

यता व्यवसायिक कृषि खेती गर्दै आएका वडा नम्बर ५ का किसान डम्बर थापाले गाउँपालिकाले अनुदानमा मिनी टिलर सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । उनले अहिले पनि किसानहरुले परम्परागत कृषि औजार मार्फत काम गर्नुपर्ने बाध्यता रहेको भन्दै गाउँपालिकाले किसानका समय बुझेको बताउनु भएको छ ।

बैजनाथ गाउँपालिकाले आगामी आ.व.मा एक वडा एक पकेट क्षेत्र घोषणा गर्ने, तकारी खेती प्रवद्र्धन र विकासमा जोड दिने नीति लिएको अध्यक्ष ठकुरीको भनाई छ । गाउँपालिकाले माछा पालकलाई प्रोत्साहित गर्ने र शित भण्डार लागि आवश्यक पहल गर्ने पनि बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार