आधा घण्टाको फरकमा चिसापानीमा दुई सवारी दुर्घटनाः शिक्षक र प्रहरीको मृत्यु



कोहलपुर ।

कोहलपुर सुर्खेत सडक खण्डको चिसापानीमा भएका दुई सवारी दुर्घटनामा परेर शनिवार दुई जनाको मृत्यु भएको छ । करिब आधा घण्टाको फरकमा भएका दुई सवारी दुर्घटनामा दुई पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

                      मृतक नारायण चालिसे

कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प ६९२९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर चिसापानीको हात्तीसार मोडमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर खजुरा गाउँपालिका, ८ का ३२ वर्षीय भिमसेन थापाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

उनले चलाएको मोटरसाइकल सडकको बाँया साइटमा रहेको डिभाइडरमा ठोक्किएको थियो । प्रहरी जवान समेत रहेका थापाको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बताइएको छ ।

यो दुर्घटना शनिवार दिउँसो करिब ३ बजेतीर भएको थियो । यस्तै शनिवार दिउँसो साढे ३ बजेतीर चिसापानीकै गाभर चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।

कोहलपुरबाट चिसापानीतर्फ जाँदै गरेको रा ४ प ७१२१ नम्बरको मोटरसाइकलाई विपरित दिशातर्फबाट आउँदै गरेको ना ८ ख ६९०३ नम्बरको कन्टेनर ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परेर कोहलपुर, ८ का ४६ वर्षीय नारायण चालिसेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृतक चालिसे चिसापानीमा रहेको एक सरकारी स्कुलका शिक्षक रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १३ गते आइतबार