कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका, १ चिसापानीमा बर्थिङ सेन्टर बन्ने भएको छ । त्यसको लागि शुक्रबार ४ कोठे भवनको शिलान्यास गरिएको हो । गाउँपालिकाका उपप्रमुख शारदा विक (रेग्मी), बैजनाथ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रुप बहादुर मल्ल र वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक) बाँकेका अध्यक्ष धर्मलाल रोकायले संयूक्त रुपमा चिसापानी स्वास्थ्य चौकी अन्र्तगत रहेको बर्थिङ सेन्टर भवनको शिलान्यास गरेका थिए ।
जापान सरकार र बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग, आड्रा जापान÷आड्रा नेपालको प्राबिधिक सहयोग र इन्रुडेकको सहकार्यमा सो भवन निर्माण हुन लागेको हो ।
सो अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष विश्वकर्माले बर्थिङ सेन्टर बनेपछि यहाँका स्थानीयलाई सहज हुने बताइन् । ‘आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले बर्थिङ सेन्टरको स्थापना गर्न लागेको हौं’ उनले भनिन् । वडाअध्यक्ष मल्लले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बर्थिङ सेन्टरको स्थापना गर्न लागिएको जानकारी दिए ।
यस्तै इन्रुडेक बाँकेका अध्यक्ष रोकायले भवन निर्माणको लागि ७० प्रतिशत संघसंस्था र ३० प्रतिशत गाउँपालिकाको लगानी रहेको बताए । भवन निर्माणको ठेक्का भुरभवानी निर्माण सेवाले पाएको छ । २०७८ साल असोजमा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्