बर्दिया
बर्दियाको बाँसगढी नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन सुरु गरिएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर १ र ३ बाहेक सबै वडामा भूमिहीनहरुको लगत संकलन सुरु गरिएको हो ।केहीदिन अघि भूमि सम्बन्धी समस्या समाधान आयोगले बर्दिया जिल्लाका सबै स्थानीय तहहरुसँग लगत संकलनका लागि सम्झौता गरिएको थियो ।
सोही अनुसार बाँसगढी नगरपालिकामा पनि लगत संकलन ईकाई स्थापना गरी लगत संकलन थालिएको हो । लगत संकलनका लागि प्रत्येक वडामा ३÷३ जना लगत संकलन कर्ता, सामाजिक परिचालक र वडा सदस्य खटिएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन ईकाई बाँसगढीका प्रमुख बिमल पौडेलका अनुसार केन्द्रीय कार्यालयको निर्देशन अनुसार बाँसगढीमा काम थालिएको हो ? बाँसगढी नगरपालिकामा झण्डै ५ हजार अव्यवस्थित बसोबासी रहेको उनले बताए ।
यस्तै २ हजार भूमिहीन रहेको आंकलन गरिएको छ । फागुन १५ गतेसम्म लगत संकलन कार्य गरी सक्ने उनको भनाइ थियो । लगत संकलनका लागि वडाहरुलाई पनि जिम्मा दिइएको छ । सोही अनुसार बाँसगढी १ र ३ वडा बाहेक अन्य वडाहरुमा संकलन कार्य चलिरहेको उनले जानकारी दिए । बाँसगढी वडा नम्बर २ पनि शुक्रबारदेखि भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन सुरु गरिएको वडा अध्यक्ष घमण्ड चन्दले बताए । लगत संकलनका लागि वडामा गोपाल वली, बल बहादुर विष्ट र रामसरा खत्री लगत संकलन कर्ताको रुपमा खटिएको वडा अध्यक्ष चन्दको भनाइ छ ।
उनका अनुसार उक्त वडामा झण्डै ७ सय ५० घरधुरी रहेका छन् । वास्तविक भूमिहीनहरुको लगत संकलनका लागि आयोगले स्थानीय तहहरुसँग मिलेर काम गरिरहेको छ । भूमिहीनहरुका लागि आयोगले जग्गाको व्यवस्था गर्ने छ । भूमिहीनहरुलाई जग्गाको मालिक बनाउने गरी सरकारले गठन गरेको अधिकार सम्पन्न आयोगले पहिलो चरणमा लगत संकलन कार्य अगाडि बढाएको हो ।









प्रतिक्रिया दिनुहोस्