२२ दलिय मोर्चाको विरोध



सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार २२ राजनितिक दल तथा संगठनहरुले विरोध सभा गरेका छन् । उनीहरुले एमसीसी सम्झौता, भारतले गरेको नेपालको सीमा अतिक्रमण, बढ्दो भष्ट्रचार र मंहगीलाई खबरदारी गर्ने भन्दै मंगलगढी चोकमा विरोध सभा गरेका हुन् । विरोध सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक दिपक शाहीले देशमा उत्पन्न भइरहेका दलाल र कुसंस्कार विरुद्धमा आवाज उठाउन २२ दल एकजुट भएको बताएका थिए ।

उनले विगतको समयमा बेलाबेला देशमा उत्पन्न हुने जनताका समस्या समाधानको लागी आवाज उठाउदैँ दाबी गरे । ‘सरकारले निकालेको नेपालको थप ३७२ वर्ग किलोमिटर क्षेत्रफल मात्र नेपाल नभइ नक्सा विज्ञ बुद्धिनरायणका अनुसार ४६० वर्ग किलोमिटर क्षेत्रफल हो’ उनले भने, ‘उक्त भुमि तत्काल फिर्ता सँगै कालापनि र लिपुलेखमा राखिएका भारतीय सेनाहरुलाई तत्काल फिर्ता गर्न आग्रह गर्दछौं ।’

शाहीले नेपाल भन्दा धेरै समयपछि स्वतन्त्र भएका देशहरु नेपाल भन्दा धेरै अगाडि बढिईसकेको र नेपाल सानातिना झमेलामा अल्झिन नहुने बताए । माथिल्लो कर्णाली बचाउ अभियानका केन्द्रीय सचिव कमलबिक्रम शाहीले सरकारले देशकै प्रमुख नदिहरु कोसी, गण्डकी, कर्णाली, सेती, महाकाली जस्ता नदिलाई नेपाल सरकारले भारतलाई बेचेको र केही बेच्न समेत लागेको आरोप लगाए । ‘अबको दुइ वर्षपछि भारतका १०५ वटा सहरहरुमा उपयुक्त खानेपानीको अभाव हुनसक्ने देखिन्छ, त्यसैले हाम्रो देशको जल स्रोत घटाउन भारत लागि परेकोले अब नेपाली चनाखो बन्नु पर्ने छ ।’ उनले भने ।

नेकपा मसालका सुर्खेत प्रतिनिधि विष्णूप्रसाद शर्माले देश जरजर अवस्थामा रहेको र सरकारमा भएका व्यक्ति हरुले नेपाली जनतामाथि घात हुने काम गरि रहेका यसबाट बच्न सबै जनताले समयमै ध्यान पु¥याउनु पर्नेमा जोड दिए । यस्तै राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहिले जनतालाई देशमा हाल भइरहेको सबै कुरा बुझाउँदैँ यतिबेला देशकको अवस्था धरापमा परेको बताए ।

‘कम्युनिस्टले गर्ने भनेको हिजोको अवस्थामा गरिव किसान, मजदुर लाई अगाडि लगाए हिड्ने हो, तर अहिले हाम्रो सरकार माफिया, भष्ट्रचारको देशको सरकार भएको छ’ उनले भने, ‘हाम्रो देशका प्रधानमन्त्री हामी भष्ट्रचार गर्नेलाई देख्न सक्दैनौं भन्छन्, तर वरिपरि भष्ट्रचारिहरुको गोदाम बनाएर राखेका छन् ।’

विरोध सभामा सहभागिहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, एमसीसी लगायत असमान सन्धि सम्झौता खारेज गर, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत देशको अतिक्रमित भूमि फिर्ता गर, कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर र बढ्दो भष्ट्रचार मंहगी नियन्त्रण गर जस्ता नाराहरु लगायतका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर ८ गते सोमबार