श्रीमान बचाइदिन श्रीमतीको हारगुहार



सुर्खेत ।

दैलेखको गुराँस गाउँपालिका– ५ का वीरेन्द्र बम सुर्खेतमा घुम्ति पसल चलाउँथे । चैत्र ११ गते सरकारले लकडाउन गरेपछि उनको व्यवसाय बन्द भयो । व्यवसाय बन्द भएपछि जन्मथलो दैलेख जाने सोच बनाए । त्यसको केहीदिनपछि वीरेन्द्रनगरस्थित भाडामा बस्दै आएको कोठामा ६ वर्षीय छोरा र श्रीमातीलाई छोडेर उनी मात्र दैलेख तिर लागे ।

आफ्नो जन्म थलो, आमा, बाबु र परिवारलाई भेट्न पाउँदा उनी निकै खुसी थिए । लकडाउन भएकोले केही समय घर मै घाँसपात मै व्यस्त भए । उनको घरमा भाइहरु छुट्टिएर अलग बस्ने कुरा समेत चलिरहेको थियो । त्यत्तिकैमा बैशाख ५ गते बमको जीवनमा अकल्पनीय घटना घट्यो, छिमेकी साथीहरुसँग दाउँरा काट्न गएका उनी भीरबाट लडे ।

टाउकोमा गम्भीर चोट लाग्यो । बेहोस भए । तत्काल उद्धार गरी थप उपचारको लागि सुर्खेतको कालागाँउमा रहेको प्रदेश अस्पताल ल्याइयो । बमकी श्रीमती धनरुपा बमका अनुसार उनलाई प्रदेश अस्पताल कालागाँउमा टाउँकोको भिडियो एक्सरे गरि सकेपछि यहाँ उपचार गर्न नसकिने खबर आयो । सोही राति नै कोहलपुर रिफर गरियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याएर देखाई सकेपछि त्यहाँपनि जटिल उपचार गर्नु पर्ने बताइयो ।

धनरुपाले बैशाख ६ गते बिहान बुटवल लगिएको बताइन् । दैलेखदेखि बुटवल पुगेपछि बमको ज्वरो चेक गर्दा १०२ डिग्री फरनहाइट थियो । अस्पतालले कोरोना संक्रमण हुन सक्ने भन्दै फिर्ता गरिदिएको उनको भनाई छ । पछि फेरी नेपालगञ्ज मेडिकल कलेजमा उचारको लागि भर्ना गरियो । चेकजाँचको क्रममा वीरेन्द्रको टाउँको, घाँटी र छातिको भित्रि भागमा गम्भीर चोट देखायो । उनी रकम अभावका कारण लामो समय राख्न नसकिएको बताउँछिन् । तर त्यही चोटका कारण बमले केही समयपछि मानसिक सन्तुलन गुमाए । यता वीरेन्द्र भने टाउँकोमा गहिरो चोट लागका कारण मान्छे नचिन्ने भइसकेका थिए ।

छट्पटाउँने, तड्पिने, गर्थे । दुई दिन आइसियूमा राख्दा ३५ हजार रुपैयाँ लाग्यो । २०७७ बैशाख ६ गतेदेखि जेष्ठको २७ गतेसम्म नेपालगन्ज मेडिकल कलेजमा राख्दा १० लाख रकम खर्च भएको उनी बताउँछिन् । वीरेन्द्र पूर्ण रुपमा अरुको सहायतामा मात्र राख्नु पर्ने अवस्थामा छन् । खाना खुवाउनेदेखि दिसापिसाबको लागि पनि अरुको सहयोग चाहिन्छ । एउटाले दैनिक उनको हेरविचार गर्नुपर्छ । उनको राम्रोसँग उपचारको लागि थप ८÷१० लाखसम्म रकम लाग्ने डाक्टरले बताएका छन् ।

‘उपचारको क्रममा धेरै ठाउँ गए । कसैको पनि साथ मिलेन । आर्थिक अवस्था नाजुक भएका कारण उपचार गर्न पाइएन । बुढाको यस्तो हालत छ ।’ उनले आफ्नो दुःख सुनाइन् । आफ्नो श्रीमानलाई बचाइदिन उनले अपिल गरिन् । उनलाई सहयोग गर्नको लागि धनरूपा बुढा बमलाई ९८६८३१७०२३ फोन गरेर प्रत्यक्ष भेटेर तथा धनरुपा बमको माछापुच्छे बैंकमा रहेको खाता नम्बर ७३२३५२४८५३४७००१८ मा पनि सहयोग गर्न सकिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार