कोहलपुर/ बाँकेको कोहलपुरमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको ६ महिनामा करिब २ करोड रकम खर्च भएको छ । गत साउनदेखि पुस मसान्त सम्म कुल १ करोड ८८ लाख ९८ हजार १ सय रकम खर्च भएको हो । सो अवधिमा आठ हजार बढीले सेवा लिएका छन् । नगर स्वास्थ्य शाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्त सम्म ८ हजार ३ सय ६३ जनाले सेवा लिएका हुन् । कोहलपुर नगरपालिका भित्र रहेको दुई वटा स्वास्थ्य चौकी र एउटा मेडिकल कलेजबाट उनीहरुले सेवा लिएको नगर स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ ।
आमा सुरक्षा कार्यक्रम कोहलपुर स्वास्थ्य चौकीबाट प्रोत्साहन भत्ताको रुपमा ५० हजार ८ सय खर्च भएको नर्सिङ्ग अधिकृत शोभा अधिकारीले बताइन् । उनका अनुसार शम्शेरगञ्ज स्वास्थ्य चौकीमा १ लाख १८ हजार र नेपालगञ्ज मेडिकल कलेजबाट १ करोड ८७ लाख २९ हजार ३ सय प्रोत्साहन भत्ता खर्च भएको छ । जस अन्तर्गत सबैभन्दा बढी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट ८ हजार १ सय ८६ जनाले सेवा लिएका छन् भने सबैभन्दा कम कोहलपुर स्वास्थ्य चौकीबाट ५३ जनाले सेवा लिएका छन् । यस्तै शमशेरगञ्ज स्वास्थ्य चौकीबाट १ सय २४ जनाले सेवा लिएको तथ्यांकमा उल्लेख छ ।
मेडिकल कलेजबाट २ हजार ४ सय १० जनाले सामान्य प्रसुति सेवा, १ सय ३० जना जटिल प्रकारका सेवा र जम्मा ४३ जनाले जटिल प्रसुति व्यवस्थापन गरिएको छ । यस्तै ९ सय २९ ले शल्याक्रिया सेवा, १ हजार १ सय ३८ जनाले नियमित गर्भ चेकजाँच, सुत्केरीलाई यातायात खर्च ३ हजार ५ सय ३८ जनाले लिएको छ । र एन्टी डि ६५ जनाले लगाएको स्वास्थ्य शाखाले जनाएको छ ।
कोहलपुर र शम्शेरगञ्ज स्वास्थ्य चौकीबाट कुनै पनि गर्भवती सेवाग्राहीले एन्टी डि सेवा र जटिल प्रसुति सेवा,सस्थागत प्रसुति यातायात खर्च र शल्याक्रिया लगायतका सेवा लिएका छैनन् ।
यसैगरी कोहलपुर स्वास्थ्य चौकीबाट जम्मा २१ जनाले सामान्य र ११ जनाले नियमित गर्भ जाँच गराएको पाइएको छ । शम्शेरगञ्जमा स्वास्थ्य चौकीबाट ४७ जनाले सामान्य सेवा र ३० जनाले नियमित गर्भ चेकजाँच गराएका छन् । तीन वटै स्वास्थ्य संस्थाबाट चालु आर्थिक वर्षको साउन देखि कात्तिकबाट जम्मा १ हजार ६ सय ९७ जनाले सामान्य प्रसुती सेवा, ६६ जनाले जटिल प्रसुती सेवा, ३ सय ३७ जनाले शल्यक्रिया, ७ सय २५ जनाले नियमित गर्भ जाँच सेवा लिएका छन् । मसिंरमा ४ सय ४ जना सामान्य प्रसुती, ३६ जनाले जटिल प्रसुती सेवा, १ सय ४५ जनाले शल्याक्रिया र नियमित गर्भ जाँच सेवा २ सय ४१ जनाले लिएका हुन् ।
यस्तै पुसमा ३ सय ७७ जनाले सामान्य प्रसुती, २८ जनाले जटिल प्रसुती सेवा, १ सय ४७ ले शल्याक्रिया तथा १ सय ७२ जनाले नियमित गर्भ जाँच सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । यसैगरी गत आर्थिक वर्ष २०७५÷०७६ वर्षको असार २३ पछि आमा सुरक्षा कार्यक्रमको यातायात खर्च तथा सस्थालाई दिने सशर्त अनुदान तर्फ १२ लाख २० हजार ४ सय रकम वितरण गरिएको थियो । मेडिकल कलेजको लागि जम्मा तीन करोड विनियोजन भएको उनले बताइन् । ‘सबै भन्दा बढी मेडिकलमा प्रोत्साहन भत्ता वितरण हुन्छ’ उनले भनिन्, ‘बीचमा अपुगमा भएमा स्वास्थ्य शाखा मार्फत माग गर्छौ ।’
कोहलपुरका सरकारी स्वास्थ्य संस्थामा सुरक्षित प्रसूती सेवा लिनेको संख्या न्युन रहेको पाइएको छ । चालु अर्थिक वर्षको ६ महिनाको तथ्यांक हेर्दा मेडिकल कलेज तथा निजी अस्पतालबाट ८ हजार १ सय ८६ जनाले सेवा लिँदा सरकारी स्वास्थ्य चौकीबाट १ सय ७७ जनाले मात्रै सेवा लिएको पाइएको हो । यो संख्या हेर्दा सरकारी स्वास्थ्य संस्थामा सेवा लिनेको संख्या निजीको तुलनामा शुन्य जस्तै देखिएको हो । सरकारीमा आर्कषण घटेपनि निजी अस्पतालमा भने अत्याधिक चाप देखिएको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले निःशुल्क सेवा उपलब्ध गराएपनि सरकारी तर्फ अकर्षण बढ्न नसकेको पाइएको हो ।









प्रतिक्रिया दिनुहोस्