शुभाकर विश्वकर्मा । कोहलपुर ।
घरमा आम्दानीको गतिलो स्रोत नभएपछि भारतमा गएर एकवर्ष स–परिवार मजुदरी गरिन् । भारतबाट फर्केपछि श्रीमान कपडाको होलसेल व्यापार गर्न थाले उनी होटल व्यवसाय । होटलबाट गतिलो आम्दानी हुन सकेन । दुवै जनाको आम्दानीले परिवार पाल्न नै मुस्किल भयो । त्यति बेला पुर्खौली घर बाजुराको कोल्टी छाडेको पनि तीन वर्ष भईसकेको थियो । ‘घर (बाजुरा) फर्कौ जग्गा जमिन छैन, यहाँको मजदुरीले परिवार पाल्न पुग्दैन’ सडक पेटीमा जुत्ता सिलाउँदै आएकी प्रेमा सार्कीले भनिन्, ‘अन्त्यमा जे पर्ला पर्ला भनेर जुत्ता सिलाउने पुर्खौली पेसा रोजे ।’ उनी विगत १० महिना देखी कोहलपुरको व्यस्त न्युरोडको सडक पेटीमा जुत्ता सिलाउँछिन् ।
जुत्ता सिलाउने सार्किको पुर्खौली पेसा समेत हो । जीवन चलाउन निकै सकस भएपछि सडक नै बसेर जुत्ता सिलाउने काम शुरु गरेको उनी बताउँछिन् । ‘जुत्ता सिलाएर आफ्नो परिवार पाल्न के को सरम् के को लाज’ उनले भनिन् । जुत्ता, कप्पल सिलाउन आउनेको एउटै प्रश्न हुन्छ । तपाईको श्रीमान हुनुहुन्न ? उनको एउटै जवाफ छ, ‘किन श्रीमान नभएकाले मात्र जुत्ता सिलाउँछन् र ।’ उनीले गर्वले भनिन्, ‘सार्की की छोरी हुँ, जुत्ता सिलाउनु के को लाज ।’ सडकमा जुत्ता सिलाएर जिन्दगी बिताउनुमा निकै गर्व छ उनीलाई । नोकरी गर्दा साहुको निर्देशनमा काम गर्नु भन्दा आफै मालिक भएर काम गर्नु पर्ने धारणा छ सार्किको । निकै हक्की स्वाभावकी उनी हरेक मानिस आफ्नो मनको राजा हुनुपर्ने
बताउँछिन् ।
उनी सडकमा बसेर जुत्ता सिलाउछिन्, उनका श्रीमान कर्णालीतिर कपडाको होलसेल व्यापार गर्छन् । चार जनाको सार्कीको परिवार सुखी परिवार समेत छ । जुत्ता सिलाएर कमाएको रकम नै उनको परिवारको मुख्य आम्दानीको स्रोत हो । जुत्ता सिलाएरै छोराछोरीलाई कोहलपुरमा निजि विद्यालयम पढाउँछन् प्रेमाका दम्पती । श्रीमानको कमाई भने कोहलपुर मै सानो भएपनि पक्की घर निर्माण गर्ने लक्ष्य रहेको छ । दैनिक न्युनतम पाँच सय देखी अधिकतम् एक हजार पाँच सयसम्म कमाई हुने गरेको सार्कि बताउँछिन् ।
जुत्ता सिलाएरको कमाई मात्रै महिनामा करिब ४० देखी ५० हजार सम्म आम्दानी हुन्छ । ‘दैनिक घर खर्च भाडा, लत्ताकपडा र छोराछोरीमा फि बुझाउने सबै यसैबाट गर्छु’ उनले भनिन्, ‘सबै खर्च कटाएर महिनामा २० हजार सम्म बज्छ ।’ आफू र परिवारको खुसीको लागि धेरै दुःख गरेको बताउने उनी अहिले पनि आफ्नो कर्मप्रति सन्तुष्टी छन् । सडक पेटीमा जुत्ता सिलाउँदा थुप्रै प्रकारका मानिसहरुसँग साक्षात्कार
हुन्छ । कोही हौसला दिन्छन् भने कोही महिलाले सडकमा जुत्ता सिलाउने काम गरेको भन्दै नराम्रो व्यवहार गरेको अनुभव उनीसँग छ ।
तर उनी भने आफ्नो कर्ममा विश्वस्त छिन् । ‘कसैको चोर्नु भएन, नराम्रो काम गर्नु भएन । आफ्नो पेसा ग¥र्यो भने भोकै बस्नु पर्दैन’ सार्किले भनिन्, ‘जोस जाँगर रहन्जेल सम्म जुत्ता सिलाउने काम गर्नेछु ।’ उनीको जुत्ता सिलाएरै छोराछोरीलाई उच्च शिक्षा पठाउने र पक्की घर बनाउने धोको रहेको छ ।









प्रतिक्रिया दिनुहोस्