नेपालगन्ज ।
नेपाल प्रेस युनियन बाँकेले महिला लेखनवृत्ति प्रतियोगिता–२०८३ अन्तर्गत उत्कृष्ट भएका समाचारमूलक सामग्री लेख्ने पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । उक्त प्रतियोगितामा पत्रकार विमला चौधरीले लेखेको ‘थारू लेहङ्गको बढ्दो मागसँगै चम्किँदै गीताको उद्यमशीलता, मासिक डेढ लाख आम्दानी’ शीर्षकको समाचारलाई प्रथम पुरस्कार पाएको छ ।
प्रतियोगितामा ममता थापाले लेखेको ‘घुँघट र अशिक्षाको पर्खाल भत्काएर सत्ताको जिम्मेवारी सम्हाल्ने आँट गरेका जनप्रतिनिधि’ शीर्षकको समाचार दोस्रो र सुमित्रा पण्डितले लेखेको ‘मुना हमालको संघर्षदेखि नेतृत्वसम्मको प्रेरणादायी यात्रा’ शीर्षकको समाचारले तेस्रो पुरस्कार पाएका छन् । ६ जना पत्रकार महिलाले सहभागिता जनाएको प्रतियोगितामा साहिदा साहले लेखेको ‘आसाका सपना, साहस, संघर्ष र दोहोरो जिम्मेवारी’ शीर्षकको समाचारलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत पत्रकारलाई क्रमशः नगद आठ हजार, पाँच हजार, तीन हजार र एक हजारका दरले पुरस्कार प्रदान गरिएको हो ।
उक्त पुरस्कार नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय शुधान्सु कोइराला, सीता काफ्ले, लुम्बिनीका पूर्वमन्त्री बादशाह कुर्मी र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डेले प्रदान गरेका थिए । सोही कार्यक्रममा युनियन बाँकेले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुधान्शु कोइराला र सीता काफ्लेलाई पनि सम्मान गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्