काँग्रेसको केन्द्रीय समिति बैठक मंगलबार बस्ने



नेपालगन्ज ।

नेपाली काँग्रेसले आगामी मंसिर ८ गते मंगलबार केन्द्रिय समिति बैठक आह्वान गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै केन्द्रीय समिति बैठकमा सहभागी हुन पदाधिकारी र केन्द्रिय सदस्यहरूलाई अनुरोध गरका हुन् ।

दुलालले शुक्रबार सूचना जारी गरेको सूचनाअनुसार बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सूचनामा बैठकमा छलफल हुने एजेण्डाबारे जानकारी उल्लेख नभएपनि पार्टी छोडे काहरूलाई पुनः फर्काउनका लागि अभियान सञ्चालन गर्नेदेखि स्थानीय तह निर्वाचन तयारीलगायत विभिन्न विषयमा छलफल हुने बताइएको छ । साथै, पार्टीको जिल्ला र प्रदेश अधिवेशनका सम्बन्धमा पनि छलफल हुनसक्ने नेताहरू बताउँछन् ।

काँग्रेसले मंसिर महिनाभर पार्टी छोडेकाहरूलाई पुनः पार्टीमा फर्काउने अभियान सञ्चालन गर्ने तयारी गरेको छ । विगतमा काँग्रेसलाई मत दिने तर विभिन्न समयमा अरू पार्टीतर्फ आकर्षित भएकाहरूलाई अभियान नै सञ्चालन गरेर फर्काइने काँग्रेस नेताहरू बताउँछन् ।

बैठकले पार्टीको महाधिवेशन ताका नगरिएका जिल्ला र प्रदेशका अधिवेशनहरूका लागि मिति तोक्ने विषयमा पनि छलफल गर्ने जनाइएको छ । पार्टी सभापति थापाले पुस महिनाभित्रै प्रदेश र जिल्लाका अधिवेशन गर्ने बताउँदै आएका छन् । काँग्रेसको गएको असोज १८ देखि २३ गतेसम्म चलेको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ६ गते शनिबार